पेरिस: भारतीय हकी टीमले शनिवार राति यहाँ न्यूजील्याण्डलाई ३-२-ले पराजित गरी ओलम्पिक खेलहरूमा आफ्नो अभियान शुरु गऱ्यो। टोक्यो ओलम्पिक २०२०-मा भारतले ४१ सालपछि काँस्य पदक जितेको थियो। यसपाली ग्रुप बी-मा भारतको अभियान चुनौतीपूर्ण रहने अगावै तय थियो अनि न्यूजील्याण्डविरुद्ध पहिलो म्याचमै त्यसको एक झलक पाइयो। भारत एक समय पछाड़िएको थियो अनि चौथो क्वार्टरको खेल समाप्त हुँदासम्म पनि स्कोर २-२-को बराबरीमा रहेको थियो। त्यसपछि म्याच समाप्त हुन १ मिनट अघि कप्तान हरमनप्रीत सिंहले पेनल्टी स्ट्रोकमा गोल गरी भारतलाई रोमाञ्चक जीत दिलाए। म्याचमा न्यूजील्याण्डको तर्फबाट सेम लेनले आठौं मिनटमा गोल गरे। त्यसपछि दोस्रो क्वार्टर (२४औं मिनट)-मा मनदीप सिंहले पेनल्टी कर्नरमा गोल गरी भारतलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि विवेक सागर प्रसादले ३४औं मिनटमा गोल गरी भारतलाई बढ़त दिलाए। म्याचमा भारतलाई लगातार चुनौती दिने न्यूजील्याण्डले पनि ५३औं मिनटमा बराबरी हासिल गऱ्यो। न्यूजील्याण्डबाट सिमोन चाइल्डले ५३औं मिनटमा गोल गरे। त्यसको ६ मिनटपछि हरमनप्रीतले पेनल्टी स्ट्रोकमा गोल गरी भारतलाई जीत दिलाए। भारतले अब सोमवार खेलिने म्याचमा अर्जेण्टिनाको चुनौती स्वीकार्नेछ। अर्जेण्टिनाले ग्रुप बी-को अन्य एउटा म्याचमा अष्ट्रेलियाविरुद्ध १-०-ले हारको सामना गर्नु पऱ्यो। यसरी गत च्याम्पियन बेल्जियमले आयरल्याण्डलाई २-०-ले पराजित गऱ्यो।










