१८ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा साइबो फूटबल क्लबले पेनल्टी शूटआउटमा रोमाञ्चक जीत हासिल गऱ्यो। सोमवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा साइबो फूटबल क्लबले खोप्रेलको टीमलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा साइबो एफसी-बाट तापोसले ३२औं मिनटमा अनि खोप्रेलको टीमबाट आदित्य जोगीले ५९औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









