दार्जिलिङ पहाडको लागि अपूरणीय क्षति
दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का वरिष्ठ नेता, पश्चिम बङ्गाल विधानसभाका पूर्व विधायक तथा दागोपापका पूर्व कार्यकारी पार्षद् एन. के. कुमाईको ८ नोभेम्बर २०२६ मा निधन भएको छ। उनको निधनले दार्जिलिङको राजनीतिक, शैक्षिक तथा श्रमिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ। सुवास घिसिङका निकट सहयोगी रहनुभएका कुमाईले गोर्खा जातीय आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सन् १९९० मा स्थापित हिमालयन प्लान्टेशन वर्कर्स युनियनका संस्थापक अध्यक्षका रूपमा उनले चियाबारी श्रमिकहरूको हक, अधिकार र सामाजिक सुरक्षाका निम्ति योगदान पुर्याएका थिए। राजनीतिमा सक्रिय हुनुअघि उनी दार्जिलिङको टर्नबुल हाई स्कूलमा शिक्षकका रूपमा कार्यरत थिए। उनको निधनप्रति दार्जिलिङ सासद राजु विष्ट पूर्व विधायक तथा गोरामुमो नेता निरज जिम्बा लगायतका नेतृत्वहरु श्रद्धाञ्जली व्यक्त गरेका छन्। एक सन्देशमा पूर्व विधायक जिम्बाले उहाँलाई शिक्षा, श्रमिक अधिकार र गोर्खा जातिको अस्तित्व तथा अस्मिताका निम्ति समर्पित अनुभवी व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।





