दार्जिलिङ: सिक्किमका पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का अध्यक्ष पवन चाम्लिङले आज दार्जिलिङमा हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्ससँग उहाँकै निवासमा शिष्टाचार भेट गर्नुभएको छ। हालै मात्र मातृशोकमा पर्नुभएका नेता एडवर्ड्सलाई सान्त्वना दिन चाम्लिङ त्यहाँ पुग्नुभएको हो।
भेटघाटका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गर्दै पूर्व मुख्यमन्त्री चाम्लिङले अजय एडवर्ड्सकी ममतामयी माता स्वर्गीय सिसिलिया एडवर्ड्सको दु:खद निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। उहाँले एडवर्ड्स परिवारका अन्य सदस्यहरूसँग पनि भेट गरी सम्पूर्ण शोकाकुल परिवारजनप्रति आफ्नो हार्दिक समवेदना प्रकट गर्नुभयो।
पूर्व मुख्यमन्त्री चाम्लिङले भन्नुभएको छ, “आमाको महाप्रस्थानले जीवनमा कहिल्यै पुरा हुन नसक्ने एउटा ठुलो शून्यतातर्फ धकेल्छ। यस कठिन र दु:खद घडीमा मेरो भावना र प्रार्थना एडवर्ड्स परिवारको साथमा छ।” उहाँले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै यस असह्य र गहिरो वज्रपातलाई सहन गर्ने शक्ति एवं साहस ईश्वरले सम्पूर्ण परिवारलाई प्रदान गरून् भनी प्रार्थना समेत गर्नुभएको छ।

राजनीतिक भेटघाटभन्दा भिन्न, दार्जिलिङ र सिक्किमका दुई शीर्ष नेताहरूबिचको यो आत्मिय र संवेदनशील भेटलाई यस क्षेत्रको सामाजिक र राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ।









