नयाँ दिल्ली: कर्नाटक सरकारले वरिष्ठ राजनीतिज्ञ तथा पूर्व मुख्यमन्त्री एसएम कृष्णको निधनमा तीन दिनको राजकीय शोकको घोषणा गरेको छ। कृष्णको मंगलबार बिहान बेंगलुरुस्थित आफ्नै निवासमा निधन भएको हो। ९२ वर्षीय वरिष्ठ राजनीतिज्ञ लामो समयदेखि बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ। कृष्णको बुधबार उनको जन्मभूमि जिल्ला मण्डयामा पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने भएको छ। दिसम्बर १० देखि १२ सम्म तीन दिने राजकीय शोक मनाउने आधिकारिक सूचनामा उल्लेख छ। यस अवधिमा औपचारिक सांस्कृतिक कार्यक्रम हुने छैन र सबै सरकारी भवनमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। एसएम कृष्ण पछिल्लो केही महिनादेखि उमेर सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए। ९२ वर्षीय कृष्णको मंगलबार बिहान २.३० देखि २.४५ बजे निधन भएको समाचार छ। एसएम कृष्णलाई उमेर बढ्दै गएपछि उपचारका लागि वैदेही अस्पतालमा भर्ना गरिएको थियो। तर, फोक्सोमा संक्रमण देखिएपछि उनलाई मणिपाल अस्पतालमा सारिएको थियो, जहाँ डा सत्यनारायण मैसूर र डा सुनिल कारन्थको नेतृत्वमा चिकित्सकहरूको टोलीले उनको उपचार गरेको थियो। उनले मंगलबार आफ्नै निवासमा अन्तिम सास लिए।










