पूर्वोत्तर युवा महोत्सवको तयारीलाई लिएर सरकार गम्भीर

IMG-20250217-WA0216

गान्तोक: सिक्किम सरकारका मुख्य सचिव आर तेलङले आज टाशीलिङ सचिवालय आगामी पूर्वोत्तर युवा महोत्सवलाई लिएर एक उच्चस्तरीय बैठक डाके। खेलकुद तथा युवा मामिला विभाग र अन्य सम्बन्धित विभागहरूका अधिकारीहरुले बैठकमा भाग लिएका थिए। बैठकले १७ देखि २० मार्चसम्म गान्तोकमा आयोजना हुने ८औं पूर्वोत्तर युवा महोत्सवको तयारीबारेमा छलफल गरेको थियो। बैठकमा विभाग प्रमुखहरू साथै गान्तोकका वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ एल लेप्चा; जीएमसीका नगर आयुक्त आरबी भण्डारी र संस्कृति विभागका अधिकारी भवानी एस घिमेरे, खेलकुद तथा युवा मामिला विभागका अन्य वरिष्ठ अधिकारीहरू र कर्मचारीहरू उपस्थित थिए। मुख्य सचिवले सम्बन्धित विभागहरूबीच समन्वय र सहकार्यको सल्लाह दिँदै सहभागीहरूमा छाप बनाउनमा प्रभावी काम गर्ने आग्रह गरे। खेलकुद तथा युवा मामिला विभागका सचिव याङचेन तामाङले युवा महोत्सवबारे बोल्दै यसबारे पावरपोइन्ट प्रस्तुती पेश गरे। उनले सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागले भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयको तत्वावधानमा महोत्सव आयोजना गरिरहेको जानकारी गराए। पूर्वोत्तर क्षेत्रका विभिन्न राज्यहरूबाट विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमसंगै १२ सयभन्दा बढी सहभागीहरू भेला हुने उल्लेख गरे। उनले विभिन्न विभागहरूबाट सहयोगको आवश्यकतामा जोड दिए।

About Author

Advertisement