कोलकाता: पश्चिम बङ्गालको बीरभूम जिल्लामा पुलिसले छापा मारेर एक पूर्वसरकारी बस चालकको घरबाट करिब २० करोड रुपैयाँ नगद र १५ किलो सुन बरामद गरेको छ। देउचा गाउँस्थित पूर्वबस चालक तथा हालका ढुङ्गा व्यापारी मोनिर मण्डलको दुई तले घरमा बुधबार छापा मार्दा उक्त नगद र सुन फेला परेको हो। पुलिसका अनुसार नगद विभिन्न झोलामा खाँदेर राखिएको थियो, जसलाई गन्नका लागि नोट गन्ने मेसिन र ओसार्न ठूला ट्रङ्कहरू प्रयोग गरिएको थियो। पुलिसले मिनारको घरबाट १–१ किलो तौल भएका १४ वटा सुनका बार र १००–१०० ग्रामका १० वटा सुनका बिस्कुट बरामद गरेको छ। हालको बजार भाउ अनुसार उक्त सुनको मूल्य करिब २१.५ करोड रुपैयाँ आकलन गरिएको छ। पुलिसले मोनिर मण्डल र उनका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। पुलिसका अनुसार मोनिर फरार व्यवसायी टुल्लु मण्डलका भिनाजु हुन्। टुल्लुको बीरभूम क्षेत्रको ढुङ्गा खानी व्यवसायमा ठूलो प्रभाव रहेको मानिन्छ। मोनिरले त्यस क्षेत्रका सात टोल गेटमध्ये एउटा सञ्चालन गर्दै आएका थिए, जहाँ खानीबाट निस्कने ट्रकहरूसँग शुल्क असुलिन्थ्यो। राजस्वका लागि सङ्कलन गरिएको ठूलो रकम हिनामिना गरी यो अवैध सम्पत्ति जोडिएको आशङ्का गरिएको छ।










