पुलिस स्टेशनहरुमा सीसीटीभी जड़ानबारे उच्चस्तरीय बैठक

IMG-20250214-WA0256

गान्तोक: गेजिङ जिल्लास्तरीय निरीक्षण समितिको एक बैठक आज जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो। उक्त बैठकमा विशेष गरेर सीसी क्यामेरा जडान र यसको समीक्षामाथि चर्चा परिचर्चा भयो। सो बैठकको अध्यक्षथा गेजिङ जिल्लाका अतिरिक्त जिल्लापाल सुरेश राईले गरेका थिए। बैठकमा महकुमा अधिकारी केसाङ डी. भोटिया, जिल्ला पञ्चायत सागर शर्मा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। उक्त बैठकमा गेजिङ, उत्तरे र देन्ताम पुलिस स्टेशनहरूमा स्थापित सीसीटीभी र पावर ब्याकअप संयन्त्रबारे छलफल गरियो। स्थापित पावर ब्याकअप संयन्त्रको समयमै मरम्मति र उचित ह्यान्डलिङबारे व्यावहारिक तालिम सञ्चालन गर्ने निर्णय गरियो। उल्लेखनीय छ, भारतको सर्वोच्च न्यायालयले हिरासतमा हुने यातनाका घटनाहरूलाई नियन्त्रण गर्न सबै पुलिस स्टेशनहरूको केरकार क्षेत्रहरूमा रेकर्डिङ उपकरण सहित सीसीटीभी क्यामेरा जडान गर्न आदेश जारी गरेको थियो। यो निर्देशन सीबीआई, ईडी र एनआईए जस्ता सबै अनुसन्धान एजेन्सीहरूमा पनि लागु हुनेछ। राज्यका सबै पुलिस स्टेसनहरूमा पनि यो अनिवार्यरूपमा लागु गर्नुपर्ने हेतुले बैठक आयोजना गरिएको हो।

About Author

Advertisement