पीडी राई कुनै पनि हालमा सांसद बन्न नसक्ने इन्द्रहाङ सुब्बाकाे दाबी

n5982751541712498912195f09863b7ffd652c322a1c007d2c8dae890212a3140fa24e98dd78a3ce5a3cf51.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्टका लोकसभा सांसद उम्मेदवार पीडी राई कुनै पनि हालतमा सांसद बन्न नसक्ने एसकेएमका लोकसभा सांसद उम्मेदवार इन्द्रहाङ सुब्बाले दाबी गरेका छन्।

रिनाक समष्टि अन्तर्गत रोड़ाथाङमा आज आयोजित सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको विजयी भवः जनसभालाई सम्बोधन गर्दै इन्द्रहाङ सुब्बाले पीडी राई सांसद बन्नै नसक्ने ठोकुवा गरेको एसकेएमले प्रेस विज्ञप्तिमा बताएको छ।

निवर्तमान सांसद एवं उम्मेदवार इन्द्रहाङ सुब्बाले सिक्किमका राजनीतिक मुद्दाहरू संसदमा उठाउन साहस चाहिन्छ, हिम्मत चाहिन्छ भने। उनले पीडी राईको खोइरो खन्दै भने, ‘मैले पाँच वर्षको कार्यकालमा धेरैपल्ट सिक्किमका मुद्दाहरू उठाएको छु। अहिले सांसदको उम्मेदवार हूँ भन्दै गाउँ घुम्ने पीडी राई आफ्नो कार्यकालमा एकपल्ट मात्र बोले त्यो पनि काम्दै बोले। उनी त्यतिबेला बोलेको सिक्किम र सिक्किमका मुद्दाहरू फत्ते गर्नलाई होइन तर राजनीतिक फाइदाको लागि बोलेका थिए।’

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आएपछि नै वर्षौंदेखि सिक्किमेली नेपालीहरूमाथि लागेको विदेशीको कलङ्क हटेको छ। पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको पहल अनुसार नै यो सम्भव भएको इन्द्रहाङ सुब्बाले बताए। २५ वर्ष सत्ता सञ्चालन गर्ने एसडीएफ सरकारले एकैपल्ट पनि विदेशीको कलंक हटाउने दिशामा पहल नगरेको उनले आरोप लगाए।

“एसकेएम सरकार आएपछि यो सम्भव भयो त्यसैले गोले छ त सम्भव छ भन्ने एसकेएमको नारा सार्थक बनेको छ। सर्वोच्च न्यायालयले नै सिक्किमे नेपालीमाथि यो कलङ्क हटाइदिएपछि अहिले सिक्किम बचाउँछु भन्दै हिँड्ने कथित नेताहरूले ठूलो कुरा नगरे हुन्छ’, इन्द्रहाङ सुब्बाले भने।

एसकेएम सरकारले पाँच वर्षको कार्यकालमा सबैलाई न्याय दिने काम गरेको सुब्बाले बताए। “एसकेएम सरकारले धर्मनिरपेक्ष सिक्किम स्थापित गरेको छ। एसकेएम पार्टीको सरकारले पार्टी र जाति अनि धर्म नछुट्याइ काम गरेको छ। सिक्किम अनि सिक्किमेली समाजको उत्थानको निम्ति काम गरेको छ। युवा, विद्यार्थी, नारीसहित हरेक वर्गका सिक्किमेली जनताको हितमा काम गरेको छ।”

एसकेएम पार्टीले अहिले पाँच वर्ष काम गरेको रिपोर्ट कार्ड देखाएर भोटको अपील गरिरहेको इन्द्रहाङ सुब्बाले बताए। उनले भने, ‘हामीले काम गरेको दस्तावेज लिएर प्रमाणका साथ जनतामा भोट अपील गरिरहेका छौं। यद्यपि हामीलाई जनताले चुनाव जिताइसकेका छन्, परिणाम पर्खिनु मात्र हो।”

आफू सांसद बनेर संसद गएपछि सिक्किमका हरेक राजनीति मुद्दालाई इमानदारिताको साथमा उठाएको उनले बताए। आउँदो कार्यकालमा लिम्बू तामाङलाई विधानसभामा आसन आरक्षण गराउने अनि १२ जात समुदायलाई जनजातिको मान्यता दिलाउने कामलाई प्राथमिकता दिएर काम गर्ने बताए। उनले विपक्षी पार्टीहरूलाई लिम्बू तामाङको मुद्दा र जनजातिको मुद्दामा सरोकार नरहेको र चुनाउ जित्ने कोशिशमा मात्र लागेको बताए।

About Author

Advertisement