गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले भारतीय जनता युवा मोर्चा (बीजेवाईएम) की महासचिव बिन्ध्या सिञ्चुरीलाई पार्टीको पद तथा प्राथमिक सदस्यताबाट निष्कासित गरेको छ। पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै भाजपाले उनलाई कारबाही गरेको हो।
भाजपा सिक्किमका महासचिव अर्जुन राईले आज राजधानीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सिञ्चुरीलाई निष्कासन गरिएको आधिकारिक जानकारी दिए। राज्यमा हुन गइरहेको आगामी शहरी स्थानीय निकाय चुनावका लागि सत्तारुढ़ एसकेएम र भाजपाबीच तालमेल भएको सन्दर्भमा सिञ्चुरीले पार्टीको निर्णय उल्लंघन गरेको उनले स्पष्ट पारे।
गान्तोक नगर निगम अन्तर्गतको डीपीएच वार्डमा भाजपाले सृजना छेत्रीलाई आधिकारिक उम्मेदवार बनाएको भए तापनि सिञ्चुरीले सोही वार्डबाट स्वतन्त्र उम्मेदवारका रूपमा नामाङ्कन दर्ता गरेपछि पार्टीले यो कठोर निर्णय लिएको हो। सिञ्चुरी डीपीएच वार्डकी पूर्व पार्षद समेत हुन् र उनी अघिल्लो पटक भाजपाकै टिकटबाट निर्वाचित भएकी थिइन्। तर यसपटक पार्टीले उनको सट्टामा छेत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
महासचिव राईका अनुसार सिञ्चुरीलाई सम्झाउने र उम्मेदवारी फिर्ता लिन लगाउने धेरै प्रयास गरिए तापनि उनले आफ्नो अडान नछोडेपछि अन्ततः निष्कासन गर्नुपरेको हो। उनले डीपीएच वार्डका मतदाताहरूलाई सृजना छेत्री नै भाजपाको आधिकारिक उम्मेदवार भएको जानकारी गराउँदै कुनै पनि भ्रममा नपर्न आह्वान गरे। यदि कसैले भाजपाकै नाम लिएर भोट मागे पनि आधिकारिक उम्मेदवारलाई नै विजयी बनाउन उनले मतदाताहरूसँग अनुरोध गरेका छन्।









