पारालम्पिकमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोबर्धनलाई काठमांडूमा सम्मान

IMG-20240905-WA0226

भद्रपुर: पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोबर्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन्। उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको भएको बताइन्।
काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा पलेसाले भनिन्, ‘यो सफलता मेरो मात्र होइन। सबैको लागि हो। अब हामी गौरवका साथ भन्न सक्छौं हामीसँग पनि एउटा ओलम्पिक मेडल छ।’
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन्। यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक रहेको छ।
ऐतिहासिक सफलताको यो खुसीमा राष्ट्रिय खेलकुद परिषदको योजनामा पलेसालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै भव्य स्वागत गर्दै नगर परिक्रमा गराइएको थियो। उनको स्वागतमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राखेपका पदाधिकारी र समर्थकहरु सहभागी थिए।
स्वागत कार्यक्रममा पलेसाले आफूलाई एकदम खुसी लागिरहेको बताइन्। ‘म एकदम खुसी छु। मेरो यति धेरै हाइट हुन्छ भन्ने लागेको थिएन,’ उनले भनिन्।
उनले ओलम्पिक पदकको लामो समयदेखिको प्रतिक्षा पूरा भएको बताइन्। नेपालका खेलाडीहरु पनि ओलम्पिकमा पदक जित्नलायक छन् भन्ने यो प्रमाण भएको उनले बताइन्। ‘सबैलाई नेपालले मेडल जित्दैन कि जस्तो लागेको थियो। तर मैले ल्याएँ’, उनले भनिन्, ‘सबै युवा तेक्वान्दो खेलाडिहरुले पनि देखिसक्नुभयो कि यो सम्भव छ।’
पलेसाले यो सुरुवात मात्र भएको भन्दै अझै धेरै गर्न बाँकी रहेको बताइन्। ‘हामीलाई धेरै सुविधाहरु थिएन। अन्तिम समयमा एक महिनामात्र तालिम भयो,’ पलेसाले भनिन्, ‘यो सुरुवात मात्र हो। अझै अघि बढ्नु छ।’

About Author

Advertisement