सिलगढी: भारतबाट नेपाल प्रवेश गर्ने क्रममा खरिबारीस्थित पानीट्याङ्की सीमा क्षेत्रबाट एक जना अफगान नागरिक नक्कली भारतीय कागजातसहित पक्राउ परेका छन्। अध्यागमन कार्यालयमा जाँचका क्रममा ती अफगानी नागरिकसँगै उनका एक भारतीय साथीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने अफगान नागरिकको पहिचान अब्दुल्ला खानका रूपमा भएको छ। उनको कब्जाबाट भारतीय आधार कार्ड, मतदाता परिचयपत्र, बैंक खाताको कागजात र सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बरामद गरिएको छ। उनीविरुद्ध वैदेशिक क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ) ले पहिले नै ‘लुक आउट सर्कुलर’ (एलओसी) जारी गरेको बुझिएको छ।प्रहरी स्रोतका अनुसार अभियुक्त लामो समयदेखि भारतमा बस्दै आएका थिए र रकम खर्चेर नक्कली कागजात बनाएका थिए। उनी आफ्ना साथी शङ्कर बनिकसँगै हावडाको शिवपुरमा बस्दै आएका थिए।दुवै जनाविरुद्ध विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरी सिलिगुडी उप-विभागीय अदालतमा पेश गरिएको छ। घटनाबारे खरिबारी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।









