पाद्री जयन्तीलाई लिएर छवटै जिल्लाको भ्रमण समाप्त

padri_361

गान्तोकः आदि पत्रकार पाद्री गंगाप्रसाद स्मृति प्रतिष्ठान तथा राज्यका सम्पूर्ण ईशाई मण्डलीहरूको संयुक्त तत्वावधानमा आगामी ४ जुलाई, २०२३ का दिन १७२औं आदि पत्रकार पाद्री गंगाप्रसाद जन्म जयन्ति पालन गरिने भएको छ। यस सम्बन्धमा उक्त प्रतिष्ठानका शीर्ष टोलीले ६ वटै जिल्लाको भ्रमण गरेर प्रत्येक जिल्लाका सम्पूर्ण मण्डलीका पास्टरलगायत अगुवाहरूलाई आगामी राज्यस्तरीय पाद्री जयन्ती समारोह विषय जानकारी गराउॅंदै आएको छ।

यस क्रममा प्रतिष्ठानका अध्यक्ष कमल चामलिङको अगुवाईमा शीर्ष टोलीको भ्रमण पूर्व सिक्किमको रिनाक चालिसे ईपीसीएस चर्चमा समापन गरिएको बताइएको छ। उक्त अन्तिम बैठकमा सम्पूर्ण मण्डलीलाई नेतृत्व गर्दै धरै संख्यामा पास्टरहरू उपस्थित भएको जानकारी प्रतिष्ठानले प्रेस विज्ञप्तिमा दिएको छ।

अध्यक्ष चामलिङले आफ्नो सम्बोधनमा पाद्री गंगाप्रसाद प्रधानले समाज जाति र देशलाई दिएको योगदानमाथि प्रकाश पारे। उनले आगामी दिनमा पाद्रीको नाउँमा एक अनुसन्धान केन्द्र, ४ जुलाईलाई सरकारी बिदाको घोषणा, गान्तोकमा पाद्रीको शालीक स्थापनाको माग सिक्किम सरकारसमक्ष राख्ने प्रतिष्ठानको उद्देश्यबारे अवगत गराए।

उनले पाद्रीको जयन्ति समारोहलाई सफल तुल्याउनहेतु एक भएर सम्पूर्ण मण्डली तथा संघ-संस्थाहरू अघि आउन आह्वान गरे। उनले चर्चहरूलाई यथा-शक्ति आर्थिक सहयोगको निम्ति पनि आग्रह गरे। विज्ञप्तिमा प्रतिष्ठानको उद्देश्यलाई पूरा गर्न पाकिम जिल्लास्तरीय उपाध्यक्ष पास्टर जोएल सुब्बा र समन्वयकमा पास्टर बेन्जामिन शमशेर, पास्टर दानिएल लेप्चा, अनि कोषाध्यामा पास्टर आशिष सोदेम्बालाई नियुक्त गरिएको बताइएको छ।

-हिस

About Author

Advertisement