पाक्योङमा ‘खेत बचाओ अभियान’ अन्तर्गत कृषक सचेतना कार्यक्रम सम्पन्न

0ace40b1-24bb-4078-a88d-7cfe48783a2f

पाक्योङ: भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयको निर्देशनानुसार जुन १ देखि ३० सम्म महिनाव्यापी रूपमा सञ्चालन भइरहेको देशव्यापी ‘खेत बचाओ अभियान’ अन्तर्गत बुधबार रोंगली बजार कोअपरेटिभ हलमा एक वृहत् कृषक सचेतना कार्यक्रम सम्पन्न भएको छ। पाक्योङ जिल्लाको कृषि तथा बागवानी विभागद्वारा आयोजित यस कार्यक्रममा रोंगली, चङ्गेलाखा र रेगु जीपीयूडाँडाका कृषकहरूको बाक्लो उपस्थिति थियो।
​रेगु जीपीयूका पञ्चायत अध्यक्ष एच.बी. राई र श्रीमती मणिमाला गुरुङको मुख्य आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कृषि तथा बागवानी विभागका अतिरिक्त निर्देशक छिरिङ छोपेल भोटिया, उपनिर्देशक रेबेका गुरुङ, बागवानी उपनिर्देशक गीता क्षेत्री लगायत विभिन्न कृषि वैज्ञानिक तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो।
​कार्यक्रमको प्राविधिक सत्रमा उपनिर्देशक रेबेका गुरुङले जैविक खेती, माटोको स्वास्थ्य र उर्वरता व्यवस्थापनका साथै विभागद्वारा सञ्चालित विभिन्न कल्याणकारी योजनाहरूबारे जानकारी गराइन्। बागवानी विभागका कर्म पिन्टसो लेप्चाले अलैँची खेतीको विकास, डल्ले खुर्सानी खेतीमा चिस्यान जोगाउन गरिने ‘मल्चिङ’ प्रविधि र सुन्तला जातका फलफूलमा लाग्ने कीरा नियन्त्रण गर्ने उपायबारे प्रयोगात्मक जानकारी दिए।
​सिक्किम इफ्को अर्गानिक लिमिटेडका सहायक प्रबन्धक ताशी भोटियाले कृषकहरूलाई अलैँची, फापर, अदुवा र बेसार जस्ता रैथाने उत्पादनहरू संस्था मार्फत बिक्री गरी बढीभन्दा बढी लाभ लिन अपिल गरे। त्यस्तै, कृषि विज्ञान केन्द्र (केभीके) की डा. अनुश्री गोगोई र सीएईपीएचटीका असिस्टेन्ट प्रोफेसर डा. सुनिल एल. नार्नावरेले आधुनिक प्रविधि, हरितगृह (ग्रीनहाउस) खेती र जलवायु-अनुकूल कृषिको महत्त्वमाथि प्रकाश पारे।
​अतिरिक्त निर्देशक छिरिङ छोपेल भोटिया र पञ्चायत अध्यक्ष एच.बी. राईले कृषियोग्य भूमिको संरक्षण गर्दै आधुनिक र वैज्ञानिक प्रणाली अपनाएर उत्पादन बढाउन कृषकहरूलाई प्रोत्साहन गरे। कृषकहरूले उठाएका जिज्ञासा र समस्याहरूको समाधान गर्दै प्राविधिक टोलीले उचित परामर्श समेत दिएको थियो।

About Author

Advertisement