पाक्योग: ‘विश्व स्तनपान सप्ताह २०२६’ (अगस्ट १ देखि ७) को अवसरमा आज जिल्ला प्रशासनिक केन्द्र (डीएसी) पाक्योगमा एक विशेष कार्यक्रमका बीच शपथ ग्रहण समारोह सम्पन्न भएको छ। पाक्योगका अतिरिक्त जिल्ला अधिकारी (एडीसी) सबिन्द्र राईले उपस्थित अधिकारी तथा कर्मचारीहरूलाई स्तनपान सप्ताह २०२६ को शपथ गराउनुभएको हो।
उक्त शपथ ग्रहणले स्तनपान गराउने आमाहरूका लागि सहयोगी वातावरण (वार्म चेन) लाई सुदृढ बनाउने प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ। स्तनपान केवल आमाको मात्र नभई साझेदार, पिता, स्वास्थ्यकर्मी, सहकर्मी र समग्र समाजको सामूहिक जिम्मेवारी रहेको कुरालाई शपथमा जोड दिइएको छ।

यसका साथै, प्रत्येक आमाले सुरक्षित, सम्मानित र सशक्त महसुस गर्ने दिगो सहयोग प्रणालीको निर्माण गर्दै हरेक शिशुलाई स्वस्थ जीवनको सुरुआत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा पाक्योगका एसडीएम एन.के. भण्डारी, भूमि राजस्व तथा विपद् व्यवस्थापन विभागका उपनिर्देशक सुवास ढकाल, महिला, बाल, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग (आइसीडीएस) का उपनिर्देशक गाकी डी. फेम्पू, सूचना तथा जनसम्पर्क विभागका जिल्ला सूचना अधिकारी (डीआईओ) डिकी डी. भुटिया, आरओ/एडी किरण क्षेत्री र प्रवेश दाहालका साथै प्रहरी कर्मचारी तथा विभिन्न विभागका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
पाक्योग जिल्लाका प्रशासनिक केन्द्रका अतिरिक्त विभिन्न उप-शाखा तथा मातहतका कार्यालयहरूमा पनि पदाधिकारी तथा कर्मचारीहरूले आ-आफ्नो स्थानबाट विश्व स्तनपान सप्ताहको शपथ लिएका छन्।










