पाकयोङको याक्तेनमा भव्य रूपले विश्व पर्यावरण दिवस पालन

FB_IMG_1780682641625

वृक्षारोपण र शिशु समृद्धि योजना अन्तर्गत पासबुक वितरण

पाकयोङ: ​पाकयोङ क्षेत्रीय वन तथा पर्यावरण विभागको तत्त्वावधानमा आज याक्तेन, कार्तोकमा विश्व पर्यावरण दिवस २०२६ भव्य रूपमा पालन गरिएको छ। यस वर्षको मूल नारा ‘प्रकृतिद्वारा प्रेरित: जलवायु र हाम्रो भविष्यका लागि’ अन्तर्गत आयोजित यस गरिमामय कार्यक्रममा नाथाङ माचोङ क्षेत्रकी विधायक तथा सामाजिक कल्याण एवम् महिला, बाल, ज्येष्ठ नागरिक र अपाङ्गता कल्याण विभागकी सल्लाहकार पामिन लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिइन् भने पाकयोङकी जिल्लापाल (डीसी) परी बिश्नोई विशिष्ट अतिथिको रूपमा उपस्थित थिइन्। कार्यक्रमको सुरुमा क्षेत्रीय वन अधिकारी (डीएफओ) एसपी भोटियाले सबैलाई पर्यावरण दिवसको शुभकामना दिँदै पर्यावरण संरक्षणको महत्त्वमाथि प्रकाश पारे। उनले यो कार्यक्रम सिक्किम सरकारको ऐतिहासिक ‘मेरो रुख मेरो सन्तति’ अभियानसँग जोडेर आयोजना गरिएको जानकारी दिँदै यस अभियानले वैश्विक स्तरमा पहिचान कमाइसकेको बताए। उनले उपस्थित सबैलाई वृक्षारोपणमा सक्रिय रूपमा भाग लिन र कम्तीमा एउटा बिरुवा अवश्य रोप्न आग्रह गरे। पर्यावरण दिवसको इतिहासबारे चर्चा गर्दै उनले यस वर्ष २०२६ को वैश्विक आयोजक राष्ट्र अजरबैजान रहेको जानकारी पनि दिए।

​मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा सुरु गरिएको ‘मेरो रुख मेरो सन्तति’ अभियान अन्तर्गत नवजात शिशुको जन्मको खुसीयालीमा आमाबुबा, सन्तान र प्रकृतिबिचको सम्बन्धलाई प्रगाढ बनाउन वृक्षारोपण कार्य गरियो। यस अवसरमा छ जना नवजात शिशुहरूका तर्फबाट विभिन्न प्रजातिका ६४८ वटा बिरुवाहरू रोपिएका थिए। वृक्षारोपण पश्चात् ‘सिक्किम शिशु समृद्धि योजना’ अन्तर्गत नवजात शिशुका अभिभावकहरूलाई पासबुक वितरण गरियो। यस योजना अन्तर्गत ‘मेरो रुख मेरो सन्तति’ कार्यक्रम अन्तर्गत १०८ वटा बिरुवा रोप्ने अभिभावकका प्रत्येक नवजात शिशुको नाममा सिक्किम सरकारले १०,८०० रुपियाँ बैङ्कमा जम्मा गरिदिने गर्दछ। यो रकम ब्याजसहित मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को रूपमा रहनेछ र सन्तान १८ वर्ष पुगेपछि मात्र निकाल्न सकिनेछ।

यसबाहेक, जिल्ला विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) अन्तर्गतको क्विक रेस्पोन्स टिम (क्यूआरटी) का सदस्यहरूलाई आपत्कालीन उद्धार कार्यका लागि आवश्यक उपकरणहरू पनि प्रदान गरियो। कार्यक्रममा अतिरिक्त जिल्लापाल (विकास) साङ्गे ग्यात्सो भोटिया, महकुमा अधिकारी एनके भण्डारी, पञ्चायत सदस्यहरू, विभिन्न विभागका प्रमुखहरू, एनडीआरएफका जवानहरू र वन विभागका अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement