पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप शुरु, राज्यपालले गरे उद्घाटन

FB_IMG_1775205623994

गान्तोक: सिक्किम खो-खो सङ्घद्वारा आयोजित पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप आज रेशिथाङको खेल गाउँमा सुरु भएको छ। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर प्रमुख अतिथिका रूपमा उपस्थित भइ प्रतियोगिताको उद्घाटन गरे।
प्रतियोगितामा सब-जुनियर (महिला र पुरुष) तथा खुल्ला श्रेणी (महिला र पुरुष) मा प्रतिस्पर्धा गरिनेछ। राज्यपालले उद्घाटन समारोहलाई सम्बोधित गर्दै भने, “खो-खो भारतको पारम्परिक खेल हो, जुन हाम्रो सांस्कृतिक विरासतसँग गहिरो नाता राख्दछ।”
उनले प्रतियोगितामा साना खेलाडीहरूको सक्रिय सहभागिता देखेर खुशी व्यक्त गर्दै भने, “यस खेलले युवाहरूमा सामूहिक भावना, अनुशासन र शारीरिक स्फूर्तिलाई प्रोत्साहित गर्ने कार्य गर्दछ, र यसलाई प्राथमिकता दिनु आवश्यक छ।”
राज्यपालले राज्यका विभिन्न जिल्लाबाट २४ टोलीहरू प्रतियोगितामा सहभागी भएकोमा सन्तुष्टि व्यक्त गर्दै आयोजक, खेलाडी र प्रशिक्षकलाई शुभकामना दिए।

उनले सिक्किमका प्रतिभाशाली खेलाडीहरू यस मञ्चबाट अघि बढेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउने विश्वास व्यक्त गरे।
आजदेखि शुरु भएको यो प्रतियोगिता ५ अप्रिलसम्म जारी रहनेछ। यस अवसरमा स्वास्थ्य एवं परिवार कल्याण विभागका मन्त्री जीटी ढुङ्गेल, क्षेत्र विधायक कला राई, गान्तोक विधायक दिले नामग्याल लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement