पहिलो जिल्ला समन्वय बैठक जिल्ला पञ्चायत र लाइन विभागका अधिकारीहरूमाझ

पाकिम: आज पाकिममा पाकिम जिल्लाका जिल्ला पञ्चायत र लाइन विभागका अधिकारीहरूको पहिलो जिल्ला समन्वय बैठक बस्यो। जिल्ला अध्यक्ष लाडेन भोटियाको अध्यक्षतामा बसेको बैठकमा जिल्ला उपाध्यक्ष प्रभा प्रधान, जिल्लापाल टाशी छोपेल, एडीसी अनुपा तामलिङ, एडीसी रबिन सेवा तथा अन्यहरूको उपस्थिति रहेको थियो। जिल्लापाल छोपेलले जिल्लाको विकास सुनिश्चित गर्न जिल्ला पञ्चायतहरू र जिल्लाका अधिकारीहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले गान्तोकमा आयोजन हुने जी२० कार्यक्रममा सहभागी बन्ने १९ देशका प्रतिनिधिहरू पाकिम हुँदै जानेछन् भन्दै आगन्तुकहरूमा राम्रो छाप छोड्नका लागि क्षेत्रको साफ-सफाई र स्वच्छतामाथि ध्यान केन्द्रित गर्नुपर्ने बताए। जिल्ला उपाध्यक्ष प्रभा प्रधानले बैठक आयोजन गर्नुको उद्देश्य पाकिम जिल्लालाई अगाडि बढाउनका लागि सबै विभाग र निर्वाचित सदस्यहरूबीच समन्वय कायम गर्नु रहेको बताइन्। यसैगरी, जिल्ला अध्यक्ष लाडेन भोटियाले जिल्लाको विकास सुनिश्चित गर्न सबैलाई समन्वय कायम राखेर काम गर्न आह्वान गरिन्। बैठकमा खुल्ला बहस सत्र पनि राखिएको थियो, जसमा उपस्थित प्रतिनिधिहरू र सरकारी अधिकारीहरूले आफ्ना विचार अनि सुझाउहरू राखेका थिए।

About Author

Advertisement