पहिरोग्रस्त क्षेत्र सिंङ्लिताम र रिम्बीमा जिल्लापालद्वारा स्थलगत निरीक्षण

FB_IMG_1788375078914

राहत र पुनर्निर्माणलाई तीव्रता दिन निर्देशन

ग्याल्सिङ: ग्याल्सिङ जिल्लाका जिल्लापाल (डीसी) एवं जिल्ला म्याजिस्ट्रेट तेन्जिङ डी. डेन्जोङपाले आज जिल्लाको सिंङ्लिताम र रिम्बीस्थित पहिरोग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। पहिरोका कारण उत्पन्न परिस्थितिको प्रत्यक्ष जायजा लिनुका साथै तत्काल पुर्‍याउनुपर्ने राहत, सुरक्षा र पुनर्निर्माण कार्यको समीक्षा गर्न उनी टोलीसहित घट्नास्थल पुगेका हुन्।
​निरीक्षण टोलीमा ग्याल्सिङका अतिरिक्त पुलिस अधीक्षक (एएसपी) सोनम वाङडी, ऊर्जा विभागका सुपरिटेन्डिङ इन्जिनियर (एसई) जयप्रकाश सुब्बा, विपद् व्यवस्थापनका डीपीओ गणेश राई, ७२औँ बटालियन एसएसबीका कमाण्डान्ट जयप्रकाश, सूचना एवं जनसम्पर्क विभागका डीआईओ राजेण तामाङ, वन विभागका बीओ थुटोप भोटिया लगायत विभिन्न विभागका इन्जिनियर, स्थानीय पञ्चायत प्रतिनिधि र एसएसबीका उद्धार टोलीको उपस्थिति रहेको थियो।
​प्रभावित परिवारको सुरक्षा र सेवा बहालीमा जोड
निरीक्षणका क्रममा जिल्लापाल डेन्जोङपाले पहिरोले पुर्‍याएको क्षतिको विवरण लिँदै सम्बन्धित निकायहरूलाई जोखिममा परेका परिवारका लागि तत्काल सुरक्षा र राहतका उपायहरू मिलाउन कडा निर्देशन दिए।
​विद्युत् आपूर्ति अवरुद्ध भएका र जोखिमपूर्ण स्थानहरूमा पञ्चायतको समन्वयमा ह्यालोजन लाइटसहित पर्याप्त बत्तीको व्यवस्था गर्न उनले ऊर्जा विभागलाई निर्देशन दिए। यसका साथै, स्थानीय बासिन्दालाई खानेपानीको समस्या हुन नदिन भत्किएका पाइपलाइनहरू तुरुन्त मर्मत गरी खानेपानी सुचारु गर्न पनि ताकेता गरे।
​पहिरोको जोखिम क्षेत्रमा रहेका र क्षति पुर्‍याउन सक्ने रुखहरू पहिचान गरी हटाउन उनले वन विभागलाई निर्देशन दिएका छन्। त्यसैगरी, पहिरोको उच्च जोखिममा रहेका घरहरूको पहिचान गरी सरकारी नियम अनुसार प्रभावित परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाउन सम्बन्धित अधिकारीहरूलाई भनेका छन्।
​हालको अवस्था:
​१. सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका लागि दुईवटा घर खाली गराइएको छ।

२. पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधनको आवतजावत ठप्प भएको छ।

३. प्रभावित क्षेत्रको थप मूल्याङ्कन गर्ने र सडक सञ्जाल पुनः सुचारु गर्ने काम तीव्र गतिमा भइरहेको छ।


​प्रशासनका अनुसार प्रभावित परिवारहरूका लागि आवश्यक राहत र सुरक्षाका उपायहरू अपनाइएको छ भने सडक तथा अन्य अत्यावश्यक सेवाहरू यथाशीघ्र सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

About Author

Advertisement