पहाड़मा पनि चढ़्न थाल्यो हात्ती, स्ट्याण्डमा राखेको वाहनहरू तोड़फोड़

2c45eb52-c9b5-4759-a06c-a690f27837d4

कालचिनीः बुधबार राती बक्साद्वार बाटोको बीचमा पर्ने जीरो प्वाइन्टको गाड़ी स्ट्याण्डमा राखिएको वाहन र स्कूटीहरू एउटा जङ्गली हात्तीले तोड़फोड़ गरी दिएको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार एक्ले बदमाश हात्तीको रगरगी अहिले २८-२९ बस्ती र सुन्तलाबारी बस्तीमा बढ़ेको छ भने उक्त एक्ले बदमाश हात्तीले सुन्तलाबारी गाउँको दोकान र घरहरू पनि क्षतिग्रस्त गर्दै आईरहेको छ। बुधबार यसै घटनाक्रमबीच उक्त जङ्गली हात्तीले सुन्तलाबारीबाट प्रायः २ किलोमीटर उकालो भीरमा अवस्थित जीरो प्वाइन्टको गाड़ी स्ट्याण्डमा पुगेर बक्साद्वार निवासीहरूले राखेको कार र स्कूटीहरू जम्मै तहस नहस गरिदिएको गाउँलेहरूले जनाएका छन्।
घरसम्म वाहन र स्कूटी अनि मोटरबाइक लैजान बाटो नभएकोले बक्साद्वार पहाड़को मानिसहरूले आ-आफ्नो वाहन र स्कूटी एवम् मोटरबाइकहरू त्यही जीरो प्वाइन्टमा छोड़ने गरेका छन्। बुधबार राती सुन्तलाबारी बजार स्थित रेणु थापाको दोकान भताभुङ्ग बनाएपछि उक्त हात्तीले सोझै उकालो चढ़ेर जीरो प्वाइन्टमा राखेका बक्साद्वार बासिन्दा विकास थापाको कार, प्रितम थापा, जयकुमार डुक्पा, अनमोल गुरुङ, वाङ्गेल डुक्पा र डुबा डुक्पाको स्कूटी लछार पछार गरेको थियो। बिहान मात्र बक्साद्वारबाट तल सुन्तलाबारी आउने मानिसहरूले उक्त अस्तव्यस्त अवस्था देखेपछि सबैलाई यसको जानकारी दिएको थियो।
उकालो भीरमा पनि हात्ती चढ़्न थालेपछि बक्साद्वार पहाड़का बासिन्दाहरूले आश्चर्य साथै आशङ्का व्यक्त गर्न थालेको छ।
यस भन्दा अघि पनि जङ्गली हात्ती बक्साद्वारको चुनाभट्टी गाउँमा प्रवेश गरेको घटनाले मानिसहरू अचम्भित बनेको थियो।
चुनाभट्टीको उँचाई झण्डै समुन्द्रतलबाट २४०० फूट माथि रहेको छ भने यस्तो ठाउँमा हात्ती कसरी चढ़्यो भन्ने प्रश्न उठेको थियो।
यता जङ्गली हात्तीको उत्पातको क्षतिपूर्ति पाउने हो कि होईन यसबारे बन विभाग साथै गाउँलेहरूले केही बताउन असमर्थ जाहेर गरेका छन्।

About Author

Advertisement