पश्चिम सिक्किममा राज्यस्तरीय उधौँली साकेवा पर्व भव्य रूपमा पालन

IMG-20241120-WA0336

गान्तोक: अखिल किराँत राई संघको पहलमा आज योक्सम टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत ताथाङ स्कूलको खेल मैदानमा राज्यस्तरीय साकेवा पर्व भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राई, क्षेत्र विधायक टीटी भोटिया, मन्त्री एनबी दाहाल, मन्त्री भोजराज राई, मन्त्री भीमहाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको शुरूवातमा मुख्यमन्त्री तामाङले खेचेपेरी झीलमा पुगेर राज्यको शान्ति, एकता र सद्भवनाको निम्ति पूजा अर्चना गरे।
ताथाङ खेल मैदानमा आयोजित राज्यस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सर्व प्रथम साकेवा पर्वको अवसरमा राज्यका सम्पूर्ण जातिलाई बधाई साथै शुभकामना दिए। यो पर्व राई समुदायको निम्ति अति नै महत्वपूर्ण रहेको बताए। चुनाउ पछि योक्सम टाशीडिङ निर्वाचन क्षेत्रको पहिलो भ्रमण रहेको जानकारी गराउँदै आयोजक समितिले यसरी यस क्षेत्रमा आउने अवसर प्रदान गरेकोमा उनले धन्यवाद दिए। पर्यटकहरूको दृष्टिकोणमा योक्सम टाशीडिङ निर्वाचन क्षेत्र सबै भन्दा अघि रहेको किटान गरे। खेचेपेरी झीलको सुन्दरीकरणको निम्ति चार करोडको धनराशि आवन्टन गरिसकेको जानकारी गराए। गत दिनमा सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा यस निर्वाचन क्षेत्रका जनताले विधायक टीटी भोटियालाई भारी मतले विजयी गराएकोमा उनले योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका मतदाताहरूलाई धन्यवाद दिए। यसरी स्थानीय निर्वाचन क्षेत्रका जनताको माग अनुसार यस निर्वाचन क्षेत्रका विधायकलाई पर्यटन विभागको मन्त्रीको पदभार सुम्पिएको अवगत गराए। यस निर्वाचन क्षेत्रका १५ सय भन्दा अधिक बेरोजगार युवाहरूलाई रोजगार उपलब्ध गराएको जानकारी गराउँदै काम नपाएर छोडिएकाहरूलाई पनि काम दिने उनले आश्वासन दिए। यो सरकार बोल्ने मात्र होइन काम गरेर देखाएको उदाहरण प्रस्तुत गरे। चुनाउ अघि घऱ निर्माणको निम्ति वितरण गरिएको टोकन अनुसार अब घर निर्माण कार्य शुरू गरिने बताए। विशेष गरेर गरीब परिवारलाई प्राथमिकता दिएर काम गर्ने मुख्यमन्त्रीले जानकारी गराए। चुनाउ भन्दा अघि वितरण गरिएको टोकनहरू विस्तारै पुरा गर्ने वचन दिए। यसरी नै होम स्टे, च्यादर आदि सहुलियत पनि वितरण गरिने बताए। योक्सम टाशीडिङ निर्वाचन क्षेत्रबाट सबै भन्दा बेसी एमबीबीएस गर्नेहरू रहेको जानकारी गराए।

अखिल किराँत राई संघ एक गैर सरकारी संस्था भएकोले यसलाई राजनीतिक चश्माले नहेरिदिने सुझाउ दिँदै संस्थालाई कसरी अघि बढाउने भन्नेबारे सबैले सोच्नु पर्ने आग्रह गरे। एसकेएम सरकारले राज्यमा रहेका सबै समुदायलाई एक सुत्रमा बाँध्ने कोसिस गरेको र सफलता पनि हासिल गरेको अवगत गराए। राई समुदायको भाषा, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए। राज्यका कुनै पनि समुदायको निम्ति आफू खतरा नरहेको जानकारी गराए। वर्तमान सरकारले कुनै पनि जातीय संगठनलाई भोट व्याङ्कको रूपमा कहिले पनि नहेरेको र नहेर्ने किटान गरे। मुख्यमन्त्रीले राई समुदायको हितको निम्ति राज्यको कुनै पनि क्षेत्रमा तीन दिवसीय अधिवेशन आयोजना गरेर जाति भित्र रहेको मतभेदलाई हटाएर निचोड निकाल्नु पर्ने सुझाउ दिए। आगामी दिनमा गेजिङ जिल्लामा राई खिम निर्माणको निम्ति आगामी दिनमा बजेट सत्रमा यसको निम्ति धनराशि छुट्टाउने वचन दिए। मणिदास राईलाई राई संस्कृतिको ओएसडी नियुक्त गर्ने घोषणा गरे। उनले टाशीडिङ निर्वाचन क्षेत्रका विधायक टीटी भोटियाले राखेका मागहरूलाई सम्बोधन गर्दै यस विषयमा सकेसम्म सबै कामहरू गर्ने वचन दिए।

सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भोजराज राईले सर्वप्रथम साकेवा पर्वको सबैलाई बधाई एवं शुभकामना दिँदै राई समुदाय प्रकृति पुजारी रहेको बताए। राई समुदायले उत्पादन गरेको फल फूल लगायत अन्नहरू पाकेका बालीहरू चढाउने प्रथा रहेको जानकारी गराए। ताथाङमा राई समुदायको अधिक जनसंख्या रहेको र यहाँका नानीहरूलाई पनि राई समुदायको संस्कृतिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको बताए। एकेआरएस एक गैर सरकारी संस्था रहेको कारण यसलाई सोही प्रकारको दृष्टिकोण राख्नु पर्ने आग्रह गरे। राई जातिले राखेको जति सबै मागहरू वर्तमान सरकारले पुरा गरेको दावी गरे। यसैगरी कार्यक्रमलाई क्षेत्र विधायक तथा मन्त्री छिरिङ टी भोटियाले सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यस क्षेत्रमा पाइला टेकेको हुनाले अब यहाँको विकास हुने उनले आशा व्यक्त गरे। अखिल किराँत राई संघले यस निर्वाचन क्षेत्रमा यस प्रकारको पर्व मनाउने निर्णय लिएर पालन गरेकोमा धन्यवाद पनि दिए। यस अवसरमा उनले क्षेत्रको विकासको निम्ति मुख्यमन्त्री समक्ष केही मागहरू पनि राखे।

About Author

Advertisement