काेलकाता: पश्चिम बंगाल विधानसभा चुनाव २०२६ को मतगणना जारी रहँदा एकातिर सत्ता परिवर्तनको संकेत देखिएको छ भने अर्कोतिर राज्यका विभिन्न हिस्साबाट हिंसा र तनावका खबरहरू आइरहेका छन्। स्थिति नियन्त्रण बाहिर जान नदिन भारतीय निर्वाचन आयोगले कडा कदम चाल्दै मुख्यमन्त्री ममता बनर्जी र अभिषेक बनर्जीको घरबाहिर केन्द्रीय अर्धसैनिक बल तैनाथ गर्न निर्देशन दिएको छ।
पछिल्लो रुझान अनुसार भारतीय जनता पार्टी (भाजपा) करिब १९१ सिटमा अगाडि छ भने तृणमूल कांग्रेस (टीएमसी) ९७ सिटमा खुम्चिएको देखिन्छ। वाम गठबन्धन ३ र अन्य २ सिटमा अगाडि छन्। भाजपाको यो अग्रतासँगै राज्यभर कार्यकर्ताहरूले अबीर-गुलाल र लड्डू बाँडेर उत्सव मनाइरहेका छन्।
तर, उत्सवका बीच आसनसोल, नोआपडा र बीजपुर जस्ता क्षेत्रहरूमा झडप र आक्रमणका घटनाहरू सार्वजनिक भएका छन्। आसनसोलमा काउन्टिङ सेन्टर बाहिर तृणमूल कार्यकर्तामाथि हमला भएको आरोप छ। आयोगले सम्बन्धित पुलिस आयुक्त र जिल्ला प्रशासनलाई तत्काल घटनास्थलमा पुगेर कारबाही गर्न निर्देशन दिएको छ। कालीघाट क्षेत्रमा पनि भाजपा समर्थकहरूको भीड र उत्सवका कारण तनाव बढ्न सक्ने आशंकामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।











