कोलकाता: बसन्त ऋतु चलिरहेकै बेला पश्चिम बंगालमा वर्षा र तेज हावाको प्रभाव देखिएको छ। मौसम विभागले राज्यका केही जिल्लामा आँधीसहित भारी वर्षाको सम्भावना रहेको भन्दै ‘ओरेन्ज अलर्ट’ जारी गरेको छ।
आइतबार केही जिल्लामा छिटपुट वर्षा भए पनि यो क्रम अझै जारी रहने मौसम विभागले जनाएको छ। आगामी दुई दिन पश्चिम बर्दवान, बाँकुडा, पुरुलिया, नदिया, मुर्शिदाबाद र बीरभूम जिल्लामा वर्षा र तेज हावा चल्ने अनुमान गरिएको छ।
मौसम विभागका अनुसार आज साँझ पश्चिम बर्दवान र बाँकुडामा हावाको गति ४० देखि ५० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ। पुरुलियामा भने गर्जनसहितका बादल सक्रिय भएका छन्। अधिकारीहरूले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
यसैबीच उत्तर बंगालका माथिल्ला पाँच जिल्लामा पनि आगामी पाँच दिनसम्म आँधी–तूफानको सम्भावना रहेको बताइएको छ। मौसम विज्ञहरूका अनुसार बिहार र झारखण्डतर्फ बनेको न्यूनचापीय ट्रफ तथा बंगालको खाडीबाट आएको चिस्यानका कारण यस्तो मौसमीय अवस्था बनेको हो।
मौसम विभागले ११ र १२ मार्चदेखि आकाश क्रमशः सफा हुँदै मौसम सामान्य हुने अनुमान गरेको छ। हालका लागि भने चट्याङ, रुख ढल्ने तथा जलजमाव जस्ता सम्भावित घटनाबाट सतर्क रहन नागरिकलाई सुझाव दिइएको छ।










