इन्धन बचाउन र सार्वजनिक यातायात प्रयोग गर्न विशेष अपिल
नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक सल्लाहकार परिषद (पीएम-ईएसी) सँग एक अत्यन्तै महत्त्वपूर्ण बैठकको अध्यक्षता गर्नुभएको छ। देशका दिग्गज अर्थशास्त्री र नीति विज्ञहरू सम्मिलित यस उच्चस्तरीय बैठकमा पश्चिम एशिया अर्थात् मिडल इस्टमा जारी तनाव र विश्वव्यापी अनिश्चितताका बीच भारतको आर्थिक वृद्धिको रफ्तारलाई कसरी निरन्तरता दिने भन्ने रणनीतिको बारेमा गहन छलफल भयो। बैठकमा विशेष गरी ऊर्जा बजारमा आएको उतारचढाव, बढ्दो महँगीको दबाब, आपूर्ति शृङ्खला (सप्लाई चेन) मा देखिएको अवरोध र व्यापारिक प्रवाहमा परेको असरको विस्तृत समीक्षा गरिएको थियो।
यस संकटपूर्ण घडीमा प्रधानमन्त्री मोदीले देशलाई आत्मनिर्भर बनाउन ऊर्जा पूर्वाधार, आणविक ऊर्जा र आन्तरिक उत्पादन (घरेलु म्यान्युफ्याक्चरिङ) मा रणनीतिक लगानी बढाउनुपर्ने कुरामा विशेष जोड दिनुभयो। साथै, उहाँले देशका नागरिकहरूसँग इन्धनको खपत कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा पर्ने दबाबलाई घटाउनका लागि बढीभन्दा बढी सार्वजनिक यातायातको प्रयोग गर्न हार्दिक अपिल समेत गर्नुभएको छ। यसका साथै लगानीको वातावरणलाई थप सुदृढ बनाउन, नियमनकारी बोझ कम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन दीर्घकालीन नीतिगत उपायहरू अपनाउने निर्णयका साथ यो बैठक सम्पन्न भएको छ।









