काठमाडौं: विशेष अदालतले घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका प्राविधिक उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले उनलाई एक वर्ष कैद र ६ लाख रुपियाँ जरिवाना हुने फैसला गरेको हो। २ अगस्त २०२२ मा ६ लाख रुपैयाँ सहित पक्राउ परेका नेपाललाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको हो। उपसचिव नेपालले पोखराको एक प्याराग्लाइटिङ कम्पनीको इजाजतका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए। तर पछि बरामद गर्ने क्रममा साढे १६ लाख रुपैयाँ भेटिएको थियो। अख्तियारले उपसचिव नेपालको फोन सम्पर्कको विवरण (कल डिटेल) र रेष्टुरेन्टको सीसीटीभी फुटेजका आधारमा बीबी एयरबेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले घुस दिएको निष्कर्ष निकाल्यो र उनलाई पनि मुद्दा चलाएको थियो। विशेष अदालतले भने घुस दिएको आरोप लागेका श्रेष्ठलाई सफाइ दिएको छ।








