‘पर्यटकीय हब’ मुलकोट माथि बाढीको बज्रपात

IMG-20241005-WA0016

भद्रपुर: सिन्धुलीको सुनकोसी गाउँपालिका-५ स्थित मुलकोट पछिल्लो समय पर्यटकीय हबका रूपमा चिनिँदै थियो। सुनकोसीको शान्त बेगसँग आनन्दित भएर बसेको मुलकोटको अहिलेको अवस्था भने ठिक विपरीत छ। पानीको फोहरासहितको स्वीमिङ पुल, गार्डेन, पार्क अहिले मरुभूमिमा परिणत भएका छन्। गत शुक्रबार र शनिबारको भारी वर्षासँगै आएको बाढीले मुलकोटको हराभरालाई तहसनहस बनाएको छ। होटल, रिसोर्ट, बजार, स्कुल, पुल, स्थानीयका घरहरूमा बाढीले वितण्डा मच्चाएको छ। शान्त र आकर्षक मुलकोट अहिले विपत्तिसँग जुधिरहेको छ।
संघीय राजधानी काठमाडौंबाट ९० किलो मिटरको दुरीमा रहेको मुलकोट एक रात बास बसेर फर्कने (वान नाइट स्टे) आन्तरिक पर्यटक र वाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै थियो। दिन दुगुना रात चौगुनाको हिसाब द्रुत गतिमा ‘पर्यटकीय हब’ बन्दै गरेको मुलकोटको अहिलेको अवस्था भने विकराल छ, अझ भनौं बाढीको संकटै-संकटबाट गुज्रेको छ।
सुनकोसीको बाढीले सुनकोसी गाउँपालिका-५ स्थित मुलकोट बजार, सित्खा, खैरनी, रातमाटा डुबान परेर करोडौंको क्षति भएको छ। मुलकोटमा रहेको पशुपति आधारभूत विद्यालयसँगै दर्जनौं होटल तथा रिसोर्ट र बस्तीहरू डुबानमा परे। राति नै बस्तीमा सुनकोसी नदी प्रवेश गरेपछि झनै अर्को विपत्ति आइलाग्यो। स्थानीयले भागेर बल्लतल्ल ज्यान त जोगाए, तर सामान भने जोगाउन सकेनन्। जसकारण पनि मुलकोटले झन् ठूलो क्षति बेहोर्नु पर्‍यो।

सुनकोसीको बाढीबाट मुलकोटमा मात्रै ६० घरहरू डुबानमा परेको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा दाहाल बताउछन। मुलकोट बजार र आसपासका ६० घर डुबानमा परे। त्यहाँ भएका सरसामान बाढीसँगै बगे। केही पानीमा डुबेर नष्ट भए, जसकारण झन् ठूलो क्षति बेहोर्नु पर्‍यो,’ उनले भने।

About Author

Advertisement