कालचिनी: आउँदो १ जुलाईदेखि सम्भवतः छिमेकी देश भोटाङ खोलिन सक्ने कुराको घॉंईघुई अहिले चलिरहेको छ| कोरोना महामारीको कारण विगत दुई वर्षदेखि भोटाङको जम्मै सीमान्त प्रवेशद्वार बन्द रहेको थियो भने दीर्घ लामो समयदेखि बन्द भोटाङ गेटको कारण भोटाङे नागरिकहरू न त यता भारत आउन सक्थे न नै भारतीय नागरिक भोटाङ प्रवेश गर्न पाउँथे| यस्तो स्थितिबीच भोटाङको फुन्छोलिङ शहर सीमान्तमा रहेको कालचिनी खण्डको जयगाउँ सहरको अहिले रौनकता हराउने अवस्था रहेको छ| तर अहिले फेरि आउँदो १ जुलाईदेखि सम्भवतः पर्यटकहरूको निम्ति भारत भोटाङको सीमाद्वारा खोलिने घॉंईघुईले जयगाउँका पर्यटन व्यवसायी माहौलमा केही आशाको किरण छाएको छ| भोटाङ र भारत सरकारको कुनै पनि अधिकारिक बयान यसबारेमा प्रकास नभएता पनि आन्तरिक सुत्रबाट थाह लागेअनुसार मुख्यत पर्यटकहरूको निम्ति रोयल भोटाङले १ जुलाईदेखि भोटाङ गेट खोल्न सक्ने सङ्केत देखाएको छ| प्राप्त जानकारी अनुसार भोटाङले प्रति पर्यटकहरूबाट सब्सिडरी डेभलपमेन्ट फी (एसडीएफ) को रुपमा १२०० रुपियॉं लिनेछ भने भारतीय र बाङ्गलादेशी पर्यटकहरूको निम्ति १२०० रुपियॉं एसडीएफ र अन्य विदेशी पर्यटकहरूको निम्ति २०० डलर प्रतिव्यक्ति लिने बताईएको छ| यद्यपि ५ देखि १२ वर्षको पर्यटक सदस्यहरूलाई १०० डलर र ५ वर्षदेखि तलकाहरूलाई एसडीएफ नलाग्ने बताइएको छ| भोटाङमा पस्ने प्रत्येक पर्यटकहरू एकदिनको निम्ति क्वारन्टाइनमा बस्न पर्ने बताइएको छ भने २३ सेप्टेम्बरदेखि कुनै पनि पर्यटकहरूलाई क्वारन्टाइनमा बस्न नपर्ने जान्नमा आएको छ|
यद्यपि भोटाङ गेट केवल पर्यटकहरूको लागि मात्र खोलिएको हो वा सबैको निम्ति यसको स्पष्टिकरण आजसम्म नपाएको सुत्रले बताएको छ| यदि सबै कुरा सम्तुलित साथै सामान्य भए भोटाङ पुनः पहिलाको अवस्थामा आउन सक्ने पर्यवेक्षकहरूले जनाएका छन्| कोरोना महामारीको कारण बाहिरकाहरूको निम्ति पूर्णरुपमा बन्द राखिएको भोटाङले केवल भारत भोटाङ सीमान्त क्षेत्रलाई मात्र असर नपारेर भोटाङ नागरिकहरूलाई पनि गहिरो असर परेको बताउँछन् विज्ञजनहरू|










