रम्फू: बौद्ध धर्मावलम्बीहरूका महान् आध्यात्मिक गुरु परम पूज्य क्याब्गोन साक्य गोङमा चेन्पो र परम पूज्य साक्य त्रिजिन रिम्पोछे शनिवार सिक्किम आइपुगेका छन्। राज्य प्रवेशको द्वार मानिने रम्फूमा दुवै श्रद्धेय गुरुजनलाई औपचारिक एवम् भव्य भक्तिभावका साथ स्वागत जनाइयो।
रम्फूमा आयोजना गरिएको स्वागत समारोहमा धार्मिक मामिला, जनस्वास्थ्य अभियान्त्रिकी तथा जलस्रोत विभागका मन्त्री सोनाम लामा, धार्मिक मामिला विभागका सल्लाहकार छेवाङ भोटिया, विशेष कर्तव्य अधिकारी (ओएसडी), विभागका सचिव तथा वरिष्ठ अधिकारीगण, तिब्बती बसोबास कार्यालयका प्रतिनिधिहरूका साथै ठूलो सङ्ख्यामा उपस्थित भिक्षु (लामा) र उपासक-उपासिकाहरूले परम्परागत खादा अर्पण गर्दै दर्शन एवम् स्वागत गरेका थिए।
यी दुई विशिष्ट आध्यात्मिक व्यक्तित्वहरूको आगमनले सिक्किमका बौद्ध समुदायमा नयाँ उत्साह छाएको छ। धर्मगुरुहरूको यस पावन आगमनले राज्यको गहिरो बौद्ध विरासत, सांस्कृतिक मूल्यमान्यता र चिरस्थायी आध्यात्मिक परम्परालाई थप प्रगाढ बनाएको स्थानीय श्रद्धालुहरूले बताएका छन्।





