गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सोमबार तादोङस्थित श्री श्री दुर्गा मन्दिरमा जारी ११ दिने पद्म महापुराण ज्ञान यज्ञमा सहभागी भई व्यासपीठको पूजा-अर्चना गरेका छन्। लोकभवनद्वारा जारी विज्ञप्तिअनुसार राज्यपालले विशेष उपस्थितिका साथ आरतीमा भाग लिँदै लोक कल्याण, सुख, समृद्धि र शान्तिका लागि प्रार्थना गरेका हुन्।
पद्म महापुराण आयोजक समितिको तत्त्वावधानमा गत अप्रिल ४ देखि सुरु भएको यो आध्यात्मिक कार्यक्रम भोलि अप्रिल १४ सम्म चल्नेछ। सो अवसरमा बोल्दै राज्यपाल माथुरले पद्म महापुराण जस्ता प्राचीन शास्त्रहरूको अध्ययन र श्रवणले समाजमा नैतिक मूल्य, शान्ति, सद्भावना र मानव सेवाको भावनालाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे।
यस्तो बृहत् धार्मिक आयोजनाले समाजका सबै वर्गलाई एकै ठाउँमा ल्याएर आध्यात्मिक जागरण ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले आयोजक समितिलाई सफल कार्यक्रमका लागि शुभकामना समेत दिए। कार्यक्रममा मन्दिर समितिका सदस्यहरू, विभिन्न क्षेत्रका गणमान्य व्यक्तित्वहरूका साथै ठूलो सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको थियो।









