पत्रकारहरूद्वारा दार्जिलिङ प्रेस गिल्डमा विश्व प्रेस स्वतन्त्रता दिवस पालन

IMG-20230503-WA0305.jpg

दार्जिलिङ: दार्जिलिङ प्रेस गिल्डमा पत्रकारहरूद्वारा आज विश्व प्रेस स्वतन्त्रता दिवस पालन गरिएको छ। दार्जिलिङ प्रेस गिल्डको सभापति दिप गजमेरको अध्यक्षता र सचिव बिनय शंकरको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको शुरुमा ईण्डिया बुक अफ् रिकर्डमा दर्ता भएको दार्जिलिङ प्रेस गिल्डको गीत प्रस्तुत गरेर कार्यक्रम थालिएको थियो। त्यसपछि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दार्जिलिङ प्रेस गिल्डका पत्रकारहरूले केक काटेर पालन गरेका थिए। कार्यक्रममा विशेष अतिथिको रूपमा सन्त जोसेफ कलेजको मास कम्युनिकेशन विभाग प्रमुख बिक्रम राई र फादर अलेकज्याण्डर गुरुङ उपस्थित रहेका थिए। यसै कार्यक्रममा ईण्डिया बुक अफ् रिकर्डमा दर्ता भएको दार्जिलिङ प्रेस गिल्डको गीत र राज्यको राज्यपाल डा सीभी आनन्दा बोसले दार्जिलिङ प्रेस गिल्डका पत्रकारहरूका लागि लिखित रूपमा दिएको शुभकामना पत्रको दार्जिलिङ प्रेस गिल्डको भित्तामा अतिथहरूका बाहुलीबाट अनावरण गरियो। कार्यक्रममा विश्व प्रेस स्वतन्त्रता दिवस विषयमा साथै वर्तमान परिप्रेक्ष्यमा पत्रकारिता विषयमा अतिथिद्वय बिक्रम राईले आफ्नो वक्तव्य राखेका थिए। यस क्रममा उनले वर्तमान समय सामाजिक सञ्जालको रहेको भए पनि मेन स्ट्रिमका पत्रकारहरूले कुनै पनि कुराको सत्यता जाँच गरेर न्युज गर्नु पर्ने र एकपक्षीय न्युजबाट जोगिनु पर्ने बताएका छन्। उनले वर्तमानमा कपि पेस्ट न्युज गर्नु पत्रकारिताको विरूध्दमा रहेको बताउँदै हामीले एक पक्षीय न्युज गर्दै त्यही व्यक्ति विशेष, सामाजिक संस्था कि त कुनै एक राजनैतिक पार्टीको प्रोपोगाण्डा मात्र बनाएको जस्तो हुन्छ भनी बताए। बिक्रम राईले अघि भने, ‘पत्रकारितामा आर्थिक संकटबाट जोगिनु आवश्यक छ। यसले गर्दा पत्रकारिता निष्पक्ष नहुन पनि सक्छ। पत्रकारितामा प्रेस स्वतन्त्रता छ तर कतिपय परिस्थितिमा रेस्टिक्शन पनि दिएको छ। यस्ता कुरालाई पत्रकारले बुझ्नुपर्छ।’

कार्यक्रममा वरिष्ठ पत्रकार अमिताभ ब्यानर्जीले आफ्नो सम्बोधनमा पत्रकारले न्युज गर्दा पत्रकार सम्मेलन, प्रेस रिलिज र घटना क्रमलाई मात्र होइन तर क्रियटिभ न्युजहरू पनि गर्नु पर्ने सुझाव दिएका छन्। उनले विशेष पत्रकारितामा पोक्सो एक्ट विषयमा जानकारी गराएका थिए। त्यसरी नै कार्यक्रममा सन्त जोसेफ कलेजका फादर अलेकज्याण्डर गुरुङ लगायत वरिष्ठ पत्रकारहरू क्रमैले सञ्जय विश्वास र सपन पालले पनि विश्व प्रेस स्वतन्त्रता दिवस विषयमा वक्तव्य राखेका थिए। आजको विश्व प्रेस स्वतन्त्रता दिवस पालन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ प्रेस गिल्डको सचिव पत्रकार बिनय शंकरले आज हामीले छोटो समयमा विश्व प्रेस स्वतन्त्रता दिवस पालन गरेको र यसै अवसरमा ईण्डिया बुक अफ् रिकर्डमा दर्ता भएको दार्जिलिङ प्रेस गिल्डको गीत र राज्यको राज्यपाल डा सीभी आनन्दा बोसले दार्जिलिङ प्रेस गिल्डका पत्रकारहरूलाई दिएको लिखित शुभकामनाको भित्तामा राखेर अतिथिहरूका बाहुलीबाट अनावरण गरिएको जानकारी गराएका छन्। उनले आगामी दिनमा सम्पूर्ण पत्रकारहरूलाई लिएर पत्रकारिता विषयमा कार्यशाला आयोजना गरिने भएको जानकारी गराएका छन्।

About Author

Advertisement