पडिक्कलको १६७ रनले भारत पहिलो टेस्ट म्याचमा असल स्थितिमा

IMG-20260816-WA0114

गाल: भारतले श्रीलंकाविरुद्ध पहिलो टेस्ट म्याचको दोस्रो दिन खेल समाप्त हुँदासम्म ९ विकेटको नोक्सानमा ४६० रन बनाएर आफ्नो स्थिति मजबूत गऱ्यो। वर्षाले प्रभावित दोस्रो दिनको खेलमा भारतले ७ विकेट गुमायो तर तल्लो क्रमको ब्याटरहरूका उपयोगी योगदानले टोली मजबूत स्थितिमा पुग्यो। पहिलो दिनको खेल समाप्त हुँदा कुलदीप यादव १२ र प्रसिद्ध कृष्णा १ रनमा अविजित थिए। खराब मौसम र मैदानमा पानी जमिएको हुनाले दोस्रो दिनको खेल लगभग २ घण्टा ३५ मिनट ढिलो गरी शुरु भयो। भारतले दोस्रो दिनको शुरुवात २ विकेटको नोक्सानमा २८८ रनबाट गऱ्यो। श्रीलंकाई बलरहरूले आज असल बलिंग गरेर भारतीय ब्याटरहरूमाति दबाउ सृष्टि गरे। भारतले पूरा दिनको खेलमा १७२ रन जोड्यो। श्रीलंकाई बलरहरूमा प्रबाथ जयसूर्याले ४ र केशारा नुवान्थाले ३ विकेट हासिल गरे। भारतले आज खेल शुरु गर्दा पडिक्कल १३१ र रिषभ पन्त २७ रनमा अविजित थिए। पडिक्कलले असाधारण ब्याटिंग गर्दै आफ्नो टेस्ट करियरमा पहिलोपल्ट १५० रनको आँकड़ा पार गरे। पडिक्कल टी ब्रेकको ठीक अघि १६७ रन बनाएर आउट भए। उनले २३० बल खेलेर १५ वटा चौका र एउटा छक्का लगाए। भारतले आज पडिक्कल भन्दा अघि पन्त र केएल राहुलको विकेट गुमायो। पन्त ३९ रन बनाएर आउट भए। यसरी पहिलो दिन चोटले गर्दा ७७ रनको निजी स्कोरमा रिटायर्ड हुने राहुल आज खेल्न ओर्लिए अनि ८२ रन बनाएर आउट भए। राहुलले १७५ बल खेलेर दशवटा चौका र एउटा छक्का लगाए। राहुल र पडिक्कल आउट भएपछि ध्रुव जुरेलले मोर्चा सम्हाले। उनले तल्लो क्रमका ब्याटरहरूसँग मिलेर टोलीको स्कोर ४०० पारी पुऱ्याए। रविन्द्र जडेजा १३ रन बनाएर आउट भए। क्रीजमा आक्रामक ब्याटिंग गरिरहेका जुरेल अर्द्धशतक पूरा गरेको लगत्तै पछि जयसूर्याको शिकार बने। उनले ६८ बलमा चारवटा चौका र एउटा छक्काको साथ ५१ रन बनाए।

About Author

Advertisement