नाम्ची: सिटिजन एक्सन पार्टी (काय्प) सिक्किमले पञ्चायती राज दिवस २०२६ को अवसरमा शुक्रबार नाम्चीस्थित जिल्ला कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा वक्ताहरूले स्थानीय निकायको स्वायत्तता र अधिकार कटौती गरिएको भन्दै वर्तमान राज्य सरकारको आलोचना गरेका छन्।
पार्टीका उपाध्यक्ष एवं मङ्गन जिल्ला अध्यक्ष जर्बु छिरिङ लेप्चाको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चायतलाई हस्तान्तरण गरिएका २९ वटा विभागहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा ग्रामीण विकास ठप्प भएको औँल्याइयो। सीएपीका लोकल सेल्फ गभर्मेन्ट परिषदका अध्यक्ष एवं जिल्ला पञ्चायत सदस्य देवराज राईले संविधानले अधिकार दिए पनि व्यवहारमा पञ्चायतहरूलाई ‘पिँजरामा थुनिएको बाघ’ जस्तै बनाइएको टिप्पणी गरे। उनले संविधानको ७३औँ संशोधनको भावना अनुसार स्थानीय सरकारलाई स्वतन्त्र र सशक्त बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा पार्टीकी उपाध्यक्ष सन्जु राईले महिला सशक्तीकरणको मुद्दा उठाउँदै निर्वाचित महिला प्रतिनिधिहरूलाई राजीनामा दिन बाध्य पारिने प्रवृत्तिको विरोध गरिन्। उनले आगामी चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी र मन्त्रिमण्डलमा समेत सम्मानजनक सहभागिता सुनिश्चित गर्ने चुनौती दिइन्। यस्तै, राजनीतिक परिषद अध्यक्ष भूषण अधिकारीले सीएपी निर्दलीय स्थानीय चुनावको पक्षमा रहेको स्पष्ट पारे। कार्यक्रममा नाथाङ-माचोङ क्षेत्रका विभिन्न व्यक्तिहरू पार्टी प्रवेश गरेका थिए।










