गान्तोक: सिक्किम सरकारको खाद्य प्रशोधन उद्योग विभाग तथा रानीपुलस्थित कृषि अभियान्त्रिकी र फसलपछिको प्रविधि महाविद्यालयको संयुक्त आयोजनामा सञ्चालित ‘न्यूनतम प्रशोधित साग-सब्जी’ सम्बन्धी तीनदिने तालिम कार्यक्रम शनिबार समापन भएको छ।
तालिम अवधिभर सहभागीहरूलाई न्यूनतम प्रशोधित साग-सब्जी र जुस निर्माणसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। यसका साथै कृषि उपजमा मूल्य अभिवृद्धि र उद्यमशीलताका अवसरहरूबारे विस्तृत जानकारी दिइएको आयोजकले जनाएको छ। दिगो जीविकोपार्जन तथा स्वरोजगारका अवसर सिर्जना गर्न मद्दत पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

तालिमको समापन समारोहमा सहभागी २५ जनालाई सहभागिताको प्रमाणपत्र वितरण गरियो। खाद्य प्रशोधन उद्योग विभागले कार्यक्रमलाई उपलब्धिमूलक बनाउन सहयोग पुर्याउने महाविद्यालय, प्राध्यापक, स्रोत व्यक्ति तथा प्रशिक्षकहरूप्रति आभार व्यक्त गरेको छ।
समापन कार्यक्रममा महाविद्यालयका डीन प्राध्यापक एनएस चौहान, राज्य खाद्य प्रशोधन उद्योग विभागकी सचिव ज्योत्स्ना एम. कार्थक, संयुक्त सचिव नविता प्रधान र उपसचिव रश्मि कपिललगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।





