अहमदाबाद: सञ्जु सेमसन (८९ रन)-को अगुवाईमा शीर्ष क्रमको विध्वंशी ब्याटिंगपछि जसप्रीत बुमराह (४ विकेट)-को अगुवाईमा बलरहरूका प्रभावशाली प्रदर्शनको सहायताले भारत लगातार दोस्रोपल्ट अनि समग्रमा तेस्रोपल्ट आईसीसी टी२० वर्ल्ड कप च्याम्पियन बन्यो। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतवार खेलिएको फाइनलमा भारतले न्यूजील्याण्डलाई ९६ रनले पराजित गऱ्यो। यसरी भारत लगातार दोस्रोपल्ट, समग्रमा तेस्रोपल्ट अनि आयोजक देशको रूपमा टी२० वर्ल्ड कपको खिताब जित्ने पहिलो टीम बन्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल स्कोर बनायो। त्यसपछि न्यूजील्याण्डको टीम विशाल लक्ष्यको दबाउमा परेर १९ ओभरमा केवल १५९ रन बनाएर अलआउट भयो। न्यूजील्याण्डको तर्फबाट ओपनर टिम साइफर्ट र सातौं नम्बरमा खेल्ने कप्तान मिचेल सेण्टनरलाई छोड़ेर अन्य कसैले छोप छोड़न सकेनन्। भारतीय बलरहरूमा बुमराह र स्पिनर अक्षर पटेलले लगातार विकेट हासिल गरी भारतको जीत सुनिश्चित गरे। साइफर्टले ५ वटा छक्का र २ वटा चौकाको सहायताले २६ बलमा सर्वाधिक ५२ रन बनाए। यसरी सेण्टनरले ३५ बलमा ३ वटा चौका र २ वटा छक्काको सहायताले ४३ रन बनाए। यी दुईजनालाई छोड़ेर अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। भारतीय बलरहरूमा बुमराहले ४ र अक्षरले ३ विकेट लिए।
यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै भारतीय ईनिंग्समा शीर्ष तीनजना ब्याटरको अर्द्धशतक मुख्य आकर्षण रह्यो। यसमा सञ्जु सेमसनले ८९ (४६ बल, ८ वटा छक्का र ५ वटा चौका), ईशान किशनले ५४ (२५ बल, ४ वटा चौका र ४ वटा छक्का) र अभिषेक शर्माले ५२ रन (२१ बल, ६ वटा चौका र ३ वटा छक्का) बनाए। सेमसनले टीमको निम्ति आफ्नो उपयोगिता साबित गर्दै लगातार तेस्रो अर्द्धशतक बनाए। उनले अभिषेकसँग पहिलो विकेटको निम्ति ७.१ ओभरमा ९८ रनको पार्टनरशीप गरे। यसमा पावरप्लेको ९२ रन सामेल छ। अभिषेक आउट भएपछि सेमसनले ईशानसँग मिलेर दोस्रो विकेटको निम्ति तेजीको साथ १०५ रनको पार्टनरशीप गरे। जिमी निशमले पछिबाट १६औं ओभरमा विकेटमा सेट सेमसन र ईशानको साथमा भारतीय कप्तान सूर्यकुमारको विकेट लिए पनि अन्तिम ओभरहरूमा हार्दिक पाण्ड्या र शिवम दुबेले तेजीको साथ रन बनाएर टीमलाई विशाल स्कोरसम्म पुऱ्याए। दुबेले ३ वटा चौका र २ वटा छक्काको सहायताले ८ बलमा अविजित २६ रन बनाए। यसरी हार्दिकले १८ र तिलक वर्माले अविजित ८ रन बनाए।











