शिक्षा क्षेत्र सुधारका लागि ‘विद्यार्थी दबाव यात्रा’

student-yatra-2

विराटनगर (नेपाल): प्राज्ञिक विद्यार्थी परिषद नेपाल कोशी प्रदेशले विराटनगरमा ‘विद्यार्थी दबाव यात्रा’ निकालेको छ। परिषदले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारका लागि शुक्रबार विद्यार्थी दबाब यात्रा र्याली निकालेको हो। दबाव यात्राले नयाँ पुस्तामा देशको शिक्षा क्षेत्रको भविष्य सुन्दर हुने आशा जगाएको परिषदकी कोशी प्रदेश सहसचिव मुन बिष्टले बताइन्। उनले नैतिक शिक्षा लागू गरी युवा विद्यार्थीहरूमा स्वदेश प्रेम बढाई राष्ट्र निर्माणमा योगदान दिने जनशक्ति तयार गर्न विशेष प्रयास गर्नुपर्ने बताइन्। कार्यक्रमलाई सम्बोधन गर्दै परिषदका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डाको आधारमा गरिने परिपाटीको अन्त्य हुनुपर्ने बताए। यही कारणले शिक्षाक्षेत्र धरासायी भएको पनि उनले बताए।

शिक्षा क्षेत्रको दलीय राजनीति भागबन्डाको अन्त्य गर्नुपर्ने, प्रवेश, परीक्षा, परिणाम पात्रो, परिसर, प्रश्नपत्र एवं पाठ्यक्रम, मूल्याकंन पद्धति र शिक्षण विधिमा सुधार गर्नुपर्ने धारणा उनको छ। माध्यमिक तहको शिक्षा अनिवार्य रूपमा निःशुल्क गरिनुपर्ने, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाइ प्राज्ञिक व्यक्तिलाई नियुक्ति गर्ने नीति अवलम्बन गरिनुपर्ने न्यौपानेले बताए। यस्तै, क्याम्पस, विश्वविद्यालयहरूमा महापुरुष, नेपालको इतिहास, भाषा, संस्कृति आदि पाठ्यक्रममा समावेश हुनुपर्ने उनको भनाइ थियो। विद्यार्थी परिषद्का राष्ट्रिय सचिव विवस कटुवालले शिक्षामा वैदेशिक लगानी अन्त्य गर्दै २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने साथै सरकारी कर्मचारीका छोराछोरी पनि सरकारी विद्यालयमा पढाउनु पर्ने बताए। ट्राफिक चोकबाट शुरु भएको विद्यार्थी दबाव यात्रा महानगरका विभिन्न ठाउँ परिक्रमा गर्दै महेन्द्र चोक पुगेर समापन भएको थियो। दबाव यात्रामा विराटनगरका १४ वटा शैक्षिक संस्थाका विद्यार्थीसहित परिषद्का कार्यकर्तालगायतको सहभागिता थियो।

About Author

Advertisement