काठमाडौं: प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण देश कमजोर भइरहेको बताएका छन्। अध्यक्ष ओलीले देशको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको बताए। शनिबारदेखि काठमाडौंको टुँडिखेलमा शुरु भएको युवा महोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हव हुनुपर्नेमा त्यसो हुननसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे। उनले रेमिटयान्सको भरमा देश चल्ने कुरा खतरनाक हुने भए पनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको समेत बताए। युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको उल्लेख गर्दै उनले त्यस काममा पनि सरकारले ध्यान नदिएको बताए। अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रिय उत्पादनमा जोड नदिन देश रेमिटयान्स अर्थतन्त्रमा निर्भर हुनुपर्ने अवस्था आएको बताए। देशको विकास अरु कुनै राष्ट्रले नभई आफैंले गर्नुपर्ने भएकाले त्यस काममा युवाहरु अग्रसर हुनुपर्ने उनको भनाइ छ।









