क्यान्सर रोग न्युनिकरण गर्न कुनै कसर बाँकी नराख्ने स्वास्थ्यमन्त्री बस्नेतले जनाए प्रतिवद्धता

Mohan-Bahadur-Basnet-Health-Minister-Nepal

काठमाडौं: क्यान्सर रोग न्युनिकरण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन्। आइतबार (४ फरवरी) विश्व क्यान्सर रोग दिवसको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्युनिकरणका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मन्त्री बस्नेतले क्यान्सर न्युनिकरणका लागि आआफ्नो ठाउँबाट सकेको योगदान पुर्याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्l उनले क्यान्सर रोगविरुद्ध लडने आधार तत्काल तयार पार्न पनि मातहतका निकायलाई सचेत गराए। उनले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाइ नहुने स्पष्ट परे।

मन्त्री बस्नेतले भने, ‘क्यान्सर रोगलाई यो देशबाट न्युनिकरण गर्दै जाने कुरामा अहिले हामी उन्मुलन त तत्कालै भन्न सक्दैनौं। न्युनिकरण गर्दै जाने कुरामा धेरै ठूलो सहयोग प्राप्त हुन्छ भन्ने कुरामा मैले विश्वास गरेको छु। यसमा हामी आआफ्नो क्षेत्रबाट जे सक्छौं, जति सक्छौं। कसैले खट्न सक्लान्, कसैले बुद्धि दिनुपर्ला। यसमा लामोलामो समयदेखि काम गरेर बस्नुभएका व्यक्तित्वहरु यहाँ अहिले उपस्थिति हुनुहुन्छ। यसले नेपालमा क्यान्सर रोगका विरुद्ध लड्नका लागि एउटा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ। त्यसको निम्ति जग तयार पार्नेछ। त्यही जगको आधारमा आउँदो दिनमा हामीले त्यो रोगविरुद्ध लड्नेछौं। यसका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी हुनेछैन। मैले अहिले यति कुरा निवेदन गर्न चाहन्छु।’ त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले क्यान्सर रोगविरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाउने पनि बताए।

About Author

Advertisement