काठमाडौं: दार्जिलिङ-सिलगढी अनि यता बोर्डर क्षेत्रका मानिसहरूका लागि एउटा ठुलो खबर आएको छ। भारत-नेपाल सीमामा सामान ओसारपसार गर्ने आम जनता र साना व्यापारीहरूका लागि नेपाल सरकारले एउटा नयाँ फैसला गरेको छ। अब बोर्डर पार गर्दा १०० रुपियाँ होइन, सीधा ५०० नेपाली रुपियाँ अर्थात् भारतीय मूल्य करिब ३१२ रुपियाँसम्मको दैनिक उपभोग्य सामान बिना कुनै भंसार लैजान पाइने भएको छ। यसअघि नेपालको बालेन शाह सरकारले १०० नेपाली रुपियाँभन्दा धेरैको सामानमा कडा भंसार नियम लगाएको थियो, जसले गर्दा बोर्डर क्षेत्रमा निकै होहल्ला र विरोध भएको थियो। मामला अदालत र संसदसम्म पुगेपछि सरकारले आफ्नो निर्णय अलिकति बदल्नुपर्यो।
यो नयाँ नियम लागू गरेता पनि सुरक्षाकर्मी र भंसार अधिकारीहरूले निजी प्रयोगको लागि ल्याउने सामग्रीहरू भने सजिलै ल्याउन दिइरहेको स्थानीयहरूले बताएका छन्। त्यस्तै भारतमा पढ्ने नेपाली विद्यार्थीहरूले आफ्नो पढाइका लागि ट्याबलेट वा ल्यापटप बिना कुनै अतिरिक्त शुल्क नेपाल लैजान पाउने व्यवस्थालाई पनि कायमै राखिएको छ।
तर बोर्डर क्षेत्रका स्थानीय बासिन्दा र व्यापारीहरू यो फैसलाबाट अझै पूर्ण रूपले खुस भने छैनन्। उनीहरूको भनाइ छ कि आजको जमानामा ५०० नेपाली रुपियाँ भनेको एकदमै कम रकम हो, जसले दैनिक गर्जो टार्न धेरै मुस्किल पर्छ। त्यसैले उनीहरूले यो भंसार छुटको सीमालाई कम्तीमा पनि २,००० भारतीय रुपियाँसम्म बढाइनु पर्छ भनी माग गरिरहेका छन्। यो नयाँ व्यवस्था गत बुधबारदेखि नै लागू भइसकेको छ र अब यसले सीमावर्ती बजारमा कस्तो असर पार्ने हो, त्यो त समयले नै बताउनेछ।










