नेपाली वैज्ञानिकलाई मोतियाबिन्दुबारे अनुसन्धान गर्न साढे २३ करोड रुपैयाँ अनुदान

IMG-20240907-WA0156

भद्रपुर: नेपाली वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर अर्थात् करिब साढे २३ करोड रुपैयाँको ‘ग्रान्ट’ प्रदान गरेको छ। भौतिकशास्त्र विषयका ४५ वर्षीय वैज्ञानिक डा. मैनालीले आँखाको लेन्समा पाइने अल्फा-क्रिस्टालिन प्रोटिनको मोतियाबिन्दु निर्माणमा रहेको भूमिकाबारे सूक्ष्म अध्ययनका लागि उक्त अनुदान प्राप्त गर्नु भएको छ।
उनले २०१९ देखि नै मोतियाबिन्दु लाग्दा आँखाको लेन्समा अल्फा-क्रिस्टालिन प्रोटिनको भूमिकाबारे अध्ययन सुरु गरेका थिए। उनलाई २०१९ मा नै पाँच वर्षको अध्ययनका लागि एनआईएचले १५ लाख डलरको ग्रान्ट दिएको थियो। डा. मैनाली हाल अमेरिकाको इडाहो राज्यस्थित ‘बोइस स्टेट युनिभर्सिटी’मा भौतिकशास्त्र विषयका असिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत छन्।
६ वर्षयता भने मैनाली शल्यक्रियाबिनै मोतियाबिन्दुको उपचार सम्भव बनाउनका लागि लागि परेका छन्। ‘आँखाको लेन्सभित्र हाई कोलेस्ट्रोल राम्रो हो भन्ने कुरा पुष्टि गर्न खोज्दै छु,’ उनले भने, ‘लेन्समा हुने हाई कोलेस्ट्रोलले अल्फा-क्रिस्टालिन प्रोटिनलाई रोक्न सकारात्मक भूमिका खेल्न सक्छ।’
विभिन्न अध्ययनअनुसार आँखाको लेन्सका झिल्लीमा उमेर र मोतियाबिन्दुसँगै अल्फा-क्रिस्टालिनको तह बढ्दै जान्छ। तर, लेन्समा अल्फा-क्रिस्टालिनको तह कसरी समाहित हुन्छ भन्ने प्रक्रिया भने हालसम्म अज्ञात रहेको छ। डा. मैनालीका विचारमा अल्फा–क्रिस्टालिनको ‘डिएमिडेसन (एक प्रकारको रासायनिक प्रतिक्रिया) र उत्परिवर्तन तथा लिपिड र कोलेस्ट्रोलको अक्सिडेसनले लेन्स पत्रमा अल्फा-क्रिस्टालिन समाहित हुने प्रक्रियालाई बढावा दिन्छ। कोलेस्ट्रोल र कोलेस्ट्रोल बाइलेयर डोमेनले भने त्यसरी समाहित हुने प्रक्रियामा अवरोध पुर्‍याएर मोतियाबिन्दु बढ्नबाट पनि जोगाउँछ।
डा. मैनालीको यही परिकल्पनालाई अत्याधुनिक प्रयोगशालामा परीक्षण गर्न ग्रान्ट प्रदान गरिएको एनआईएचले उल्लेख गरेको छ। उनको अध्ययनले जन्मजातका साथै युवा र वृद्धा अवस्थामा कसरी मोतियाबिन्दु हुन्छ भन्ने विषय थाहा पाउनका लागि मद्दत पुग्नेछ।
‘दोस्रो पटकको ग्रान्टले नयाँ खोज र अनुसन्धानका लागि थप ऊर्जा प्राप्त भएको छ,’ वैज्ञानिक मैनालीले भने, ‘यो अमेरिकाकै प्रतिष्ठित ग्रान्ट हो, यसले आगामी ५ वर्ष अध्ययनलाई जारी राख्न सहयोग पुग्नेछ।’ उनले अघिल्लो अनुसन्धानबाट शल्यक्रिया नगरी आँखाको उपचार गर्न सकिने आधार पत्ता लगाएको दाबी गर्दै आगामी ५ वर्ष गरिने सूक्ष्म अनुसन्धानले त्यसलाई मूर्त रूप दिनेमा आफू विश्वस्त रहेको बताउछन।
‘मेरो अन्तिम लक्ष्य भनेको शल्यक्रियाबिनै मोतियाबिन्दुको उपचारलाई सम्भव तुल्याउनु हो,’ मैनालीले भने, ‘अनुसन्धान विश्वसनीय भएकैले यसमा थप काम गर्नका लागि मैले सहयोग पाएको हुँ।’
उनले यसअघि पनि नसा साँघुरो तथा कडा हुनुमा कोलेस्ट्रोल, कोलेस्ट्रोल बाइलेयर डोमेन र कोलेस्ट्रोल क्रिस्टलको भूमिकाका बारेमा अनुसन्धान गरेका थिए। डा. मैनालीले २०१२ मै जोन-विल युवा अनुसन्धानकर्ता अवार्ड पनि प्राप्त गरेका थिए। उहाँ २००० मा त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित भएका थिए।
नेसनल इन्स्टिच्युट अफ हेल्थ अमेरिकाको डिपार्टमेन्ट अफ हेल्थअन्तर्गत रहेको एक संस्था हो। यसले स्वास्थ्य क्षेत्रमा अध्ययन, अनुसन्धान तथा आविष्कार गर्नका लागि आवश्यक काम गर्छ। सयौं वर्ष पुरानो यो संस्थासँग आबद्ध रहेका वा संस्थाको सहयोगमा अनुसन्धान गरेका १७१ जना वैज्ञानिकले नोबेल पुरस्कार प्राप्त गरिसकेका छन्।
झापाको मेचीनगर-६ काँकडभिट्टाका मैनालीले विगत १४ वर्षदेखि अमेरिकाको बोइस स्टेट युनिभर्सिटीमा असिस्टेन्ट प्रोफेसरका रूपमा प्राध्यापन गर्दै आएका छन्। सन् २००५ मा त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरेपछि उनि थप अध्ययनका लागि अमेरिका गएका हुन्। उनले युनिभर्सिटी एट अल्बानी, स्टेट युनिभर्सिटी अफ न्युयोर्कबाट स्नातकोत्तर तथा बायोफिजिक्समा विद्यावारिधि गरेका छन्। विद्यावारिधि गरेसँगै उनि अमेरिकामै अध्ययन, अनुसन्धान तथा प्राध्यापनमा संलग्न छन्। उनले अमेरिकाको विसकन्सेन मेडिकल कलेजको बायोफिजिक्स विभागमा रहेर अनुसन्धानको काम गर्न सुरु गरेका थिए।
मैनालीले काँकडभिट्टाको पशुपति बोर्डिङ स्कुलबाट एसएलसी पास गरेका हुन्। उनि भद्रपुरको मेची क्याम्पसबाट आईएस्सी गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमांडू हुँदै अमेरिका पुगेका हुन्।

About Author

Advertisement