गोर्खाल्याण्डको मुद्दा कुनै दिन राजनैतिक पार्टीको मुद्दादेखि जातिगत मुद्दा बन्छ, त्यो दिन हामी गोर्खाल्याण्ड अवश्य हासिल गर्नु सक्नेछौं- अनित थापा
दार्जिलिङ: आज भानु भवनमा ३०औं नेपाली भाषा मान्यता दिवस पालन एउटा समन्वय बैठक बसिएको थियो। बैठकमा जीटीए प्रमुख कार्यपाल अनित थापा, सूचना अनि संस्कृति विभागका सभासद अनोस् थापा, नेपाली अकाडेमीका डा गोकुल सिन्हा, दार्जीलिङ नगरपलिकाका अध्यक्ष रितेश पोर्तेलको विशेष उपस्थिति रहेको थियो। सभामा आफ्नो विचार राख्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले नेपाली भाषाले मान्यता राजनीति गरेर पाएको होइन त्यसैले भाषा मान्यता दिवस पार्टीगत रूपमा नभएर भाषा प्रेमीहरुको नेतृत्वमा हुनुपर्छ भन्ने लाग्यो, पहाडमा सबै कुरा राजनैतिक दल अनि नेताले गर्नुपर्छ भन्ने संस्कार थियो अनि आजसम्म स्थापित छ। सबै कुरा जान्दछु भनेर नै पहाडको यस्तो स्थिति भएको जस्तो लाग्छ। भाषा दिवस मनाउनुमाथि पनि राजनीति हुन्छ जस्तो लाग्यो। त्यसैले मैले भने भाषा मान्यता दिवस हामी राजनैतिक दलको विषय होइन। प्रजातान्त्रिक मोर्चाले यसको नेतृत्व दिने छैन भनी बताएका छन्। भाषा मान्यताको आन्दोलन राजनीतिकरण नभएर पनि फत्ते भएको हो। यसैले नेपाली भाषाले मान्यता पायो भनी बताएका छन्। जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले गोर्खाल्याण्डको मुद्दा पनि कुनै दिन राजनैतिक पार्टीको मुद्दादेखि जातिगत मुद्दा बन्यो भने हामी गोर्खाल्याण्ड अवश्य हासिल गर्नु सक्नेछौं भन्दै भाषा प्रेमीको पहलमा अनि नेतृत्वमा यो भाषा मान्यता दिवस मनाउने मेरो विचार अजय भाइलाई पनि साझा गरे। उनले हामी अर्थात् जीटीए अनि नगरपालिका भाषा मान्यता दिवसको प्रायोजक (स्पोन्सर) बन्नेछौं, राजनिति आउँछ जान्छ तर हामीले हाम्रो भाषा अनि संस्कृति बचाएर राख्नुपर्छ भनी बताएका छन्।

सभामा नेपाली भाषा विकास एवम् अनुसन्धान केंद्र, नेपाली अकाडेमी, दार्जीलिङका अध्यक्ष डा गोकुल सिन्हाले आज दार्जीलिङ पहाडमा प्रजातन्त्र आएको छ र निर्वाचित प्रतिनिधिहरु छन् र बोर्ड गठन भएको छ। यसै बोर्डको सहयोगमा आगामी २० अगस्तमा हुने ३०औं नेपाली भाषा मान्यता दिवस भव्यताका साथ मनाउने अठोट गरेका छौं भनी बताएका छन्। जीटीए क्षेत्रभित्र अनि बाहिरका भाषा, साहित्य, समाजका संघ संस्थाका सबैले आफ्नो उपस्थिति दिई हाम्रो ठूलो उपलब्धि,भाषा मान्यता दिवस एकसाथ पालन गरौं भनी बताएका छन्। उनले भने- “यो हाम्रो भाषिक चाड अनि उत्सव हो। आफ्नो व्यक्तिगत, सामाजिक, राजनैतिक विचारलाई भाषिक विचारमा परिणत गरेर त्यस दिन सबैले आफ्नो स्तरमा मनाएता पनि यो सामूहिक रूपमा मनाइने उत्सवमा भाग लिनु आग्रह गर्दछु।”

दार्जीलिङ नगरपालिकाका अध्यक्ष रितेश पोर्तेलले पनि भाषा मान्यता दिवस एक साथ मनाउने आफ्नो अनि पार्टीको तर्फबाट स्वीकृति भएको जानकारी दिएका छन्। आजको बैठकमा नेपाली साहित्य सम्मेलन, गोर्खा दुःख निवारक सम्मेलन, भारतीय गोर्खा परिसंघका प्रतिनिधि हरु लगायत अन्य विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो।









