झापा: छैटौं एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार जुन ८मा चीनको चौसान प्रस्थान गरेको छ।
जुन १०देखि १३ सम्म हुने प्रतियोगितामा मनीष केसी (कप्तान) निकेश राखाल मगर, सुदिप पौडेल क्षेत्री र श्रेयश शाहले नेपालको प्रतिनिधित्व गर्ने छन्। प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा सुशिल गुरुङ रहेका छन्।
चीनकै युनानमा गत मई २ देखि ८ सम्म भएको बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलमा नेपालले स्वर्ण जितेको थियो। कप्तान मनीष र निकेश त्यो टोलीका सदस्य थिए। प्रशिक्षक पनि सुशिल नै थिए। युनानको प्रतियोगितामा नेपाली टोली जि टु जिअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा सहभागी भएको थियो।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले जुन ७मा एक कार्यक्रमबीच बिदाइ गरेको छ। सदस्य–सचिव घिसिङले चीनमै नेपाली पुरुष टोलीले स्वर्ण जितिसकेको स्मरण गर्दै वर्तमान टिमले पनि त्यही सफलता दोहोर्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष गुरुङले बास्केटबललाई माथि उठाउन राखेपले राम्रो सहयोग गरिरहेको बताउदै सदस्य–सचिवलाई धन्यवाद दिनुभयो। सोही अवसरमा सदस्य–सचिव घिसिङले ग्रिसको ओलम्पियामा हुने ६४ औं योङ ओलम्पिक एम्बेसडरु महोत्सवमा भाग लिन जाने बास्केटबल खेलाडी अनुषा मल्ललाई पनि बिदाइ गरेका छन्।









