काठमाण्डोंँ: नेपालमा आएको भीषण भूस्खलन र बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। विपद्मा परी धेरैको ज्यान गएको छ भने कैयौँ अझै बेपत्ता छन्। यस्तो कठिन परिस्थितिमा भारत तथा नेपालका कलाकार र सार्वजनिक व्यक्तित्वहरूले पीडितप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक सेवाका लागि परिचित भारतीय अभिनेता सोनू सूदले नेपाल एक्लो नभएको बताउँदै प्रभावितका लागि खाना, आश्रय तथा घर पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन्। नेपालसँग भावनात्मक सम्बन्ध रहेकी अभिनेत्री मनीषा कोइरालाले विपद्को तस्बिर साझा गर्दै नेपालका लागि प्रार्थना गर्न आग्रह गरेकी छन्।
नेपालमै जन्मिएका अन्तर्राष्ट्रिय फेसन डिजाइनर प्रबल गुरुंगले बाढीमा परिवारजनको खोजीमा रहेका पीडितप्रति दुःख व्यक्त गर्दै उद्धारकर्मीको साहसको प्रशंसा गरेका छन्। त्यस्तै संजय दत्तले पीडितप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताएका छन्।
यसबीच भारत सरकारले पनि मानवीय सहायता र अत्यावश्यक चिकित्सकीय सामग्री नपाल पठाएको जनाएको छ। कलाकारहरूको सहानुभूति र सरकारी सहयोगले विपद्मा परेका नेपालीलाई राहत तथा मनोबल प्रदान गर्ने अपेक्षा गरिएको छ।









