काठमाडौं: नेपालमा समाजवादी मोर्चा गठनको तयारी भएको छ। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गर्ने गरी मोर्चा गठनको तयारी अन्तिम चरणमा पुगेको हो। प्रचण्डले केही दिनमै समाजवादी मोर्चा घोषणा हुने खुलासा बुधवार नै गरेका छन्। दाङ जिल्लामा आयोजित कार्यक्रममा बोल्दै मोर्चाको दस्तावेज टुंग्याएको समेत खुलाए।
मोर्चामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टीहरु पनि रहने तय भएको छ। पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र अर्का पूर्वउपप्रधानमन्त्री वामदेव गौतमको समूह पनि सहभागी हुने प्रचण्डले बताए। यसै हप्ता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि समाजवादी मोर्चा गठन हुन लागेको बताएका थिए। उनले नेकपा फेरि बनाउने पहल भइरहेको खुलाएका थिए। नेपालमा कम्युनिस्ट पार्टी र समाजवादी विचारधाराका पार्टीहरुबीच एकता गरेर त्यसको नेतृत्व गर्ने तयारीमा प्रचण्ड लागेका छन्। -हिस











