काठमाण्डौँः नेपालको संखुवासभा जिल्लामा आइतवार खसेको पहिरोले कोशी नदीको सहायक नदी अरुण थुनिएकोमा ओभरफ्लो हुन थालेको छ। अरुण थुनिएर नदीमा निकै टाढासम्म पानी जमेर ताल जस्तै बनेपछि बिष्फोटबाट क्षति हुनसक्ने भन्दै तल्लो तटीय क्षेत्रमा हाइ एलर्ट जारी गरिएको छ।संखुवासभा जिल्लाका प्रहरी अधिकृत वीरेन्द्र कुमार गोदारले अरुण नदी थुनिएकोमा स्थानीय समय अनुसार अपरान्ह २ बजेर ४० मिनेटमा ओभरफ्लो हुन थालेको छ। पहिरोले बनेको ड्याम फुट्ने कम सम्भावना रहेको प्राविधिकको भनाई उदृत गर्दै गोदारले हिन्दूस्थान समाचारलाई जानकारी दिए। तैपनि तल्लो तटका बासिन्दालाई हाई एलर्ट गरिएको उनले बताए।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी बिमल पौडेलका अनुसार पानी जमेको स्थलमा हेलिकोप्टरसहित प्राविधिक टोली पुगेर अध्ययन गरेको छ। टोलीको अध्ययनपछि सुरक्षा सम्बन्धी आवश्यक सूचना प्रवाह गरिएको बताए। निर्माणधीन अरुण तेस्रो जलविद्युतमा सुख्खा पहिरो खसेर नदी थुनिएको हो। अरुण तेस्रो भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको छ। यो ९०० मेगावाटको छ। पूर्वी नेपालमा अरुणसहित विभिन्न नदीहरु मिसिएर कोशी बन्छ जुन भारतको विहारमा महत्वपूर्ण नदीका रुपमा रहेको छ। कोशीको बाढीले विहारमा हरेक वर्ष ठूलो समस्या पनि ल्याउने गरेको छ।










