नेपालको अर्थोडक्स चियालाई विश्वभर चिनाउनु पर्ने नेपाकलका कृषिमन्त्रीको अभिब्यक्ति

IMG-20240829-WA0012

झापा: नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताउछन्। नेपाली अर्थोडक्स चिया प्रदर्शनीलाई काठमाडौँमा उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपाली चियाको मुख्य बजार भारत हो तर भारत आफैँ चियाको ठुलो उत्पादक रहेकाले अब नेपाली चियाले भारतीय बजारको विकल्प खोज्नुपर्ने बताए। भारत आफैँले चिया उत्पादन गर्ने भएकाले नेपाली चियाको उचित मूल्य नदिने भन्दै मन्त्री अधिकारीले नेपाली किसानको लागत पनि नउठ्ने भएकाले भारतीय बजारको विकल्प खोज्नुपर्ने कुरामा जोड दिए।
आफ्नै देशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले आफ्नै उपभोक्ता र बजार भएपछि किसानलाई मनोबल पनि बढ्ने बताए। निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी तथा प्रोत्साहन गर्न सरकार सदैव तयार रहेको बताउँदै उनले नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए।
उनले राष्ट्रिय चिया नीति, २००२ मा आवश्यक संशोधन गरी चाँडै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि जनाए। चिया नीतिलाई संशोधन गरी नेपालमा उत्पादन हुने चियाको प्रवर्धन गरिने बताउँदै उनले नेपालमा उत्पादन हुने चियालाई आन्तरिक र बाह्य बजारमा प्रवर्धन गर्न मन्त्रालयले काम गरिरहेको र त्यसको परिणाम चाँडै देखिने बताए। नेपालको अर्थोडक्स चियालाई प्रवर्धन गर्नुपर्ने बताउँदै उनले भने, “नेपालको अर्थोडक्स चियालाई हाम्रो देश र विश्वभरि एक परिचित नाम बनाउन सबै मिलेर काम गर्नु पर्छ।”
चिया प्रदर्शनी आयोजक समितिका सोनाम पाल्जोर लामाले नेपाली चियाको आन्तरिक र बाह्य बजार प्रवर्धन गराउने उद्देश्यले नै चिया प्रदर्शनी गरिएको बताए। ठमेलमा आयोजना गरिएको प्रदर्शनीमा ५८ कम्पनीका १४० प्रकारका चिया राखिएका छन्।

About Author

Advertisement