मिरिक: ३५औ केन्द्रीय महा अधिवेशनअखिल भारतीय तामाङ बौद्ध सङ्घको तीनदिने कार्यक्रम हुन गइरहेछ। यो कार्यक्रम आगमी ३, ४ र ५ फरवरीको दिन निरपानियाँ खेल मैदानमा भव्य रूपमा आयोजना गरिने भएको छ। अखिल भारतीय तामाङ बौद्ध सङ्घको केन्द्रीय महासचिव एमके योञ्जनले मिरिकमा पत्रकारहरूलाई जानकारी दिए अनुसार ३५औ केन्द्रीय महा अधिवेशन निरपानियाँ खेल मैदानमा सम्पन्न गरिने भएकोले गर्दा हाल यसको तयारी युद्ध स्तरमा भइरहेको छ। तिनले विगत दुई वर्ष कोरोना संक्रमणले गर्दा सङ्घले भव्य रूपमा वार्षिक अधिवेशन पालन गर्न नसकेको तर यसपाली विविध कार्यक्रमको साथमा तीन दिवसीय वार्षिक अधिवेशन पालन गरिने जानकारी दिएका छन्। तिनले भने, अधिवेशनको पहिलो दिन अर्थात ३ फरवरी बिहान झण्डा उत्तोलन गरेपछि सामुहिक सोनाम ल्होसार पर्वका कार्यक्रम गरिने अनि अपरान्ह १ बजीदेखि अधिवेशन शुरू हुनेछ। यस अवसरमा केन्द्रीय जनताति मन्त्री जोन बारला, सांसद राजु विष्ट, जीटीए प्रमुख कार्यापाल अनित थापा, विधायकहरू निरज जिम्बा, रूदेन सादा लेप्चा, बीपी बजगाइँ, जीटीएका सभासदहरू उपस्थित रहनेछन् यसैगरी, दोस्रो दिन डा. महेन्द्र पी लामा, ज्योति प्रकाश तामाङ आदिले वार्ता प्रस्तुत गर्नेछन् भने तेस्रो दिन दुई दिन अधिवेशनको समीक्षा सभा हुनेछ। सोही दिन पूजा-अर्चनापछि हव्येसयर टुल्कुद्वरा वाङ पनि वितरण गरिने तिनले जानकारी दिएका छन्। तिनले अझ भने, अधिवेशनको तीन दिन नै साँझमा ६ देखि १० बजीसम्म सांस्कृतिक कार्यक्रम हुनेछ, जसमा जहाँ लोकप्रिय गायक राजु लामा लगायत नेपाल, दार्जिलिङ, सिक्किम, डुवर्स आदि ठाँउका कलाकारहरूले गीत, नृत्य, तामाङ सेलो आदि प्रस्तुत गर्नेछन्।









