नाम्ची र मंगन जिल्लाको स्कूललाई स्टेट ग्रीन स्कूल पुरस्कार

IMG-20230707-WA0368.jpg

गान्तोक: मुख्यमन्त्री ग्रीन स्कूल रोलिङ ट्रफी एवं स्टेट ग्रीन स्कूल पुरस्कार २०२३ को विजेता मंगन जिल्लाको फेन्सोङ माध्यमिक विद्यालय र नाम्ची जिल्लाको मल्ली उच्चतर माध्यमिक विद्यालय बनेको छ। विजेता दुवै स्कूलहरुलाई पुरस्कार स्वरूप वन विभागले पाँच लाख रुपियाँ मुख्य अतिथि विधानसभाका अध्यक्ष अरुण उप्रेतीको बाहुलीबाट प्रदान गरियो। यसरी नै पाकिम जिल्लाको माझीटार माध्यमिक विद्यालय, सोरेङ जिल्लाको कृपाशल्यण उच्चतर माध्यमिक विद्यालय र गान्तोक जिल्लाको लिङदिङ निम्नमाध्यमिक विद्यालयलाई पुरस्कार स्वरूप एक लाख रुपियाँ प्रदान गरिएको छ। गेजिङ जिल्लाको सरकारी निम्नमाध्यमिक विद्यालय सिङ्पिङ र मंगन जिल्लाको नर्थ सिक्किम एकाडमी मंगनलाई पचास हजार रुपियाँ कार्यक्रममा प्रदान गरियो।

सोरेङ जिल्लाको हिलेमा आयोजित राज्य स्तरीय “डे फर मदर अर्थ” को चौथो संस्करण कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने उनको साथमा सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा, वन विभागका मन्त्री कर्मा लोडे भोटिया, क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा, विधायक आदित्य गोले लगायत अन्यहरूको पनि उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वन विभागका मन्त्री कर्मा लोडे भोटियाले वन विभागले मेरो रुख मेरो सन्तति कार्यक्रम अन्तर्गत नवजात शिशुको नाममा १०८ वटा विरुवा रोप्ने सिक्किम सरकारको महत्त्वकांक्षी कार्यक्रमलाई जमीनी स्तरमा राज्यभरि कार्यान्वयन गरिरहेको अभिव्यक्ति प्रकट गर्दै “मेरो रुख मेरो सन्तति” अन्तर्गत जति पनि विरुवाहरु रोपिँदैछ ती विरुवाहरुलाई जोगाउने र बढाउने आह्वान गर्दै मन्त्री लोडेले बिरुवा रोपेको फोटो मात्रै नखिचेर त्यसको संरक्षण पनि गर्नुपर्ने सुझाउ दिए।

राज्यका विपक्षी दलहरूले सिक्किमको हरियाली क्षेत्र घटेको आरोपको जवाफ दिँदै वन मन्त्री लोडेले सिक्किमको हरियाली ४३ प्रतिशतदेखि वृद्धि भएर ४७ प्रतिशत पुगेको दावी गरे। मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा सिक्किम सुरक्षित रहेको बताउँदै वन विभागले जङ्गल फाँडेर बिक्री नगरेको किटान गरे। अर्कोतिर मन्त्री लोडेले अवैध रूपमा रुक काट्नेलाई विभागले जरिमाना तिराएको पनि बताए। मन्त्री लोडेले पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा अहिलेसम्म राज्यबाट वन विभागमा मेरो रुख मेरो सन्तति कार्यक्रम अन्तर्गत तीन हजार चार सयजना नवजात शिशुले पञ्जीकरण गराइसकेको जानकारी गराए। लोडेले जानकारी अनुसार मुख्यमन्त्रीले १ जुलाईको दिन जोरथाङमा आयोजित ग्वाला दिवसको अवसर सिक्किम पर्यावरण पर्वको थालनी गरेर पर्यावरण संरक्षण र प्रबन्धनको क्षेत्रमा सराहनीय कार्य गरेको बताउँदै राज्यका सम्पूर्ण जनमानसलाई पर्यावरणको सुरक्षा गर्न अघि आउने आग्रह गरेका थिए।

सोही क्रममा सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेतीले कार्यक्रममा वर्तमान सरकारले पर्यावरणलाई संरक्षण र सम्बर्द्धनको क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको मन्तव्य प्रकट गरे। सिक्किम देश कै हरियाली राज्य रहेको बताउँदै सिक्किम देश कै ग्रीन स्टेट रहेको र यसलाई नमुनाको राज्य बनाउनु पर्ने बताए। यसो हुँदा सिक्किममा पर्यटन उद्योगमा ठूलो फाइदा हुने उनको अभिव्यक्ति थियो। उनले अघि भने, मेरो रुख मेरो सन्तति अन्तर्गत रोपिएको विरुवालाई माया गर्नुपर्ने बताउँदै रुखलाई बन्चरोले हान्न अघि मेरो नानीलाई बञ्चरोले हानेको सम्झनु पर्ने अवगत गराए। हामीले हाम्रो पर्यावरणको आफै सुरक्षा गर्नुपर्ने सुझाउ दिए। मुख्य अतिथि उप्रेतीले पूर्व एसडीएफ सरकारको २५ वर्षे शासन भन्दा वर्तमान एसकेएम सरकारले चार वर्षमा त्यो भन्दा बेसी काम गरेको ठोकुवा गर्दै रहल एक वर्षमा विकासको खोला बगाउने घोषणा गरे।

स्मरण रहोस्, मुख्यमन्त्री प्रेमसिंह गोलेले मेरो रुख मेरो सन्तति अभियानको यसै वर्ष २ फरवरीको दिन शुरूवात गरेका थिए। यस अभियान अन्तर्गत अब राज्यमा नवजात शिशुको नाममा एक सय आठवटा विरुवा अनिवार्य रुपमा रोप्नु पर्ने नियम बनाएको छ। उक्त विरुवाहरु नवजात शिशुको परिवारलाई वन विभागले विरुवाहरू उपलब्ध गराउने छन्। पर्याप्त जमीन हुनेहरुले आफ्नो जमिनमा अनि जमिन नहुनेहरूको निम्ति वन विभागले नै विरुवा रोप्नको निम्ति जमिन उपलब्ध गराउने प्रावधान रहेको छ। नानी गर्वअवस्थामा हुँदा नै माता पिताले आशा, आँगनवाढी, पञ्चायत मार्फत मेरो रुख मेरो सन्ततिको निम्ति पञ्जिकरण गर्नुपर्ने हुन्छ। यसलाई राज्यवासीले अनलाइनमार्फत पनि पञ्जिकरण गर्नसक्ने छन्। पर्यावरण संरक्षण र प्रबर्द्धनको निम्ति जागरुक फैलाउन थालिएको मेरो रुख मेरो सन्तति अभियानको अहिले भारत देशमा नै चर्चाको विषय बनेको छ।

कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्री एमएन शर्मा, मन्त्री लोकनाथ शर्मा र वन विभागको सचिवले पनि सम्बोधन गरे। यस अवसरम वाइल्ड मेडिसिनल प्लान्ट अफ् सिक्किम नामक पुस्तकको पनि मुख्य अतिथि एवं विशिष्ट अतिथिको हातबाट विमोचन गरियो।

About Author

Advertisement