नाम्ची: नाम्ची जिल्लास्तरीय परामर्श समितिको एक सभा आज जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। यस अवसरमा अतिरिक्त जिल्लापाल (मुख्यालय) सुवास घिमिरे, स्टेट व्याङ्क अफ् इण्डियाका प्रमुख प्रबन्धक गधार रोय, रिजर्भ ब्याङ्क अफ् इण्डियाका प्रबन्धक सुबास लोहगुण लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस सभामा अतिरिक्त जिल्लापालले सभामा उपस्थित विभिन्न व्याङ्कका प्रतिनिधिहरूसँग विभिन्न विषयमाथि अन्तक्रिया गरे। रिजर्भ व्याङक अफ् इण्डियाको निर्देश अनुसार सबै व्याङकहरूले ग्रामीण शाखाहरूमा वित्तीय साक्षरता शिविर आयोजना गरिनुपर्ने विषयमाथि प्रकाश पारे। उनले थप जानकारी गराए अनुसार व्लकलेवल व्याङकर्स समितिको सभालाई सफल तुल्याउनको निम्ति नोडल शाखाको एकजना सदस्य उक्त सभामा उपस्थित हुनुपर्नेछ। यसरी नै उनले व्याङकको महत्वपूर्ण रिपोर्टहरूमाथि प्रकाश पार्दै विभिन्न सरकारी योजनाहरू र जिल्ला भित्र प्रदान गरिएको ऋणको स्थितिबारे पनि जाँच गरे। यसबाहेक सभामा व्याङकहरूको समग्र उपलब्धिहरूको समीक्षा गरे जसमा ऋण निक्षेप अनुपात, वार्षिक ऋण योजना, कृषि र सम्बद्ध गतिविधिहरू, एमएसएमई क्षेत्र, अन्य प्राथमिकता र गैर-प्राथमिकता क्षेत्र, सरकारी प्रायोजित योजनाहरू, स्व-सहायता समूहहरू जस्ता परिधिहरू समावेश थियो।









