नामचीमा बालश्रम विरुद्धको अभियान तीव्र

632110ac-e5a1-46b0-b823-bc553f8efff4

बालश्रमिकको आशङ्का गरिएका एक व्यक्ति जोडी, उमेर १८ वर्ष पुगेको पुष्टि भएपछि अभिभावकको जिम्मा

नाम्ची: विश्व बालश्रम विरुद्ध दिवसको सन्दर्भमा सञ्चालित ‘प्यान इन्डिया रेस्क्यु एन्ड रिहाबिलिटेसन क्याम्पेन ४.०’ अन्तर्गत नामची जिल्लाको श्रम विभागले सोमबार नामछी बजार क्षेत्रमा संयुक्त निरीक्षण तथा उद्धार अभियान चलाएको छ। बालश्रममा संलग्न बालबालिकाको पहिचान, उद्धार र पुनर्स्थापनाका लागि सञ्चालित यो अभियान आगामी ३१ अगस्टसम्म जारी रहनेछ।
​‘बाल तथा किशोर श्रम (प्रतिबन्ध र नियमन) ऐन, १९८६’ को प्रभावकारी कार्यान्वयनका लागि गठित जिल्ला कार्यदल (डिस्ट्रिक्ट टास्क फोर्स) ले नामचीका उप-विभागीय अधिकारी (एसडिएम) को उपस्थितिमा यो कारबाही चलाएको हो। टोलीमा श्रम विभाग, जिल्ला बाल संरक्षण एकाइ (डिसिपियु), शिक्षा विभाग र नामछी प्रहरी स्टेशनका अधिकारीहरूको सहभागिता थियो।
​निरीक्षणका क्रममा कार्यदलले नामछी बजारका विभिन्न व्यावसायिक प्रतिष्ठानहरूको अनुगमन गर्दै बालश्रम प्रतिबन्धको कानुनी व्यवस्थाबारे व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराएको थियो। सोही क्रममा उमेर खुलाउने प्रमाण नभएपछि बालश्रमिकको आशङ्कामा एक जनालाई उद्धार गरी आवश्यक अनुसन्धानका लागि बाल कल्याण समिति (सिडब्ल्यूसी), नामछीसमक्ष पेश गरिएको थियो।
​तथापि, आवश्यक कागजातको छानबिन र विस्तृत अनुसन्धानपछि ती व्यक्ति १८ वर्ष पूरा भइसकेको (बालबालिकाको दायरामा नपर्ने) पुष्टि भएको छ। उमेर पुष्टि भएसँगै उनलाई अभिभावकको जिम्मा लगाइएको श्रम विभागले जनाएको छ।
​जिल्लालाई बालश्रममुक्त बनाउन यस्ता सचेतनामूलक र निरीक्षण अभियानलाई अभियान अवधिभर निरन्तरता दिइने विभागले स्पष्ट पारेको छ। श्रम विभागले बालबालिकाको अधिकार रक्षाका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै कतै बालश्रम भएको पाइएमा तुरुन्तै सम्बन्धित निकायमा खबर गरिदिन सर्वसाधारण तथा व्यवसायीहरूसँग अपीलसमेत गरेको छ।

About Author

Advertisement