नामग्याल इन्स्टिट्यूट अफ् टिबेटोलजीका निर्देशकले राज्यपाललाई संस्थानका गतिविधिहरूको बारेमा जानकारी गराए

n5919237421710520963192890749fe12b55973fe3b90381cf94cd88f154683a9a3f38608c617f481be7d77.jpg

गान्तोक: नामग्याल इन्स्टिट्यूट अफ् टिबेटोलजीका निर्देशक डा. पासाङ डी. फेम्पुले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई पावरपोइन्ट प्रस्तुतीको माध्यमद्वारा संस्थान सञ्चालनको बारेमा विस्तृत जानकारी प्रस्तुत गरे।

यस अवसरमा विभाग प्रमुखहरू, अधिकारीहरू र कर्मचारीहरू पनि उपस्थित थिए।

आफ्नो प्रस्तुतिमा निर्देशकले सिक्किमको नामग्याल इन्स्टिच्युट अफ् टिबेटोलजीको संक्षिप्त परिचय दिए, जुन संस्थान छोग्याल पाल्देन थोन्डुप नामग्यालले महायान बौद्ध धर्मका चारैवटा सम्प्रदायहरूको सुरक्षाको दृष्टिले स्थापना गरेका थिए। यसको शिलान्यास १० फरवरी, १९५७ मा परमपावन १४औं दलाई लामाद्वारा गरिएको थियो र तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले १ अक्टोबर, १९५८ मा उद्घाटन गरेका थिए।

संस्थानमा महायान बौद्ध पाण्डुलिपिहरूको सबैभन्दा ठूलो संग्रह छ। ११औं मिवाङ डेन्जोङ छोग्याल टाशी नामग्यालले दिएको रोयल चार्टर अन्तर्गत यसको स्थापना भएको हो। संस्थान महायान बौद्ध पाण्डुलिपिहरूको व्यापक संग्रहको लागि प्रख्यात छ। यो रूस र जापानका समकक्षहरूका साथै विश्वव्यापी रूपमा आफ्नो प्रकारको केवल तीन संस्थानहरू मध्ये एक हो।

डा. फेम्पुले राज्यपाललाई संस्थानको शासन संरचना, महासभा, कार्यकारी बोर्ड र वित्तीय समिति, साथै यसको नियामक ढाँचा र समग्र कार्यसम्पादन बारे जानकारी गराए।

राज्यपालले सदस्यहरूको नियुक्ति प्रक्रियाका साथै संस्थानको परिसरमा प्रस्तावित ३० पलङको सोवा रिग्पा अस्पतालको बारेमा पनि जानकारी लिए। उनले संस्थानमा शिक्षा, शिक्षण र गतिविधिहरू अगाडि बढाउनुको महत्त्वमाथि प्रकाश पार्दै वर्तमान आवश्यकताहरू अनुरूप यसको उद्देश्यमा संशोधन गर्न सुझाउ दिए।

राज्यपालले सोवा रिग्पाको सन्दर्भमा ज्ञान आदानप्रदानका लागि सारनाथ र धर्मशालामा स्थापित सोवा रिग्पा अस्पतालहरूमा आदानप्रदान कार्यक्रमहरू र भ्रमणहरू गर्न सल्लाह दिए। उनले सिक्किमको सोवा रिग्पालाई पूर्वोत्तरको विकासको लागि प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणको अनुरूप राष्ट्रको लागि नमुना बन्ने बताए, जसले समग्र राष्ट्रको विकासको लागि मार्ग प्रशस्त गर्नेछ।

About Author

Advertisement